महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को बागफाँटमा २०७८ सालदेखि नयाँ वडा कार्यालयको भवन निर्माण भइरहेको छ । उक्त भवन निर्माणका लागि भीमदत्त नगरपालिकाले एक करोड ५२ लाख ९७ हजार भ्याटबाहेक बजेट छुट्याएको थियो ।
२०७८ सालदेखि निर्माण भइरहेको उक्त भवन २०७९ सालको चैत मसान्तसम्म काम सक्ने गरी हेम महराले ठेक्का लिएका थिए । उक्त भवन निर्माणको म्याद सकिँदासमेत पूर्ण रूपमा वडा भवन निर्माण हुन सकेको छैन । उक्त वडा कार्यालयका वडा सचिव भोजराज जोशीले वडा कार्यालयको भवन अहिले दुईतला निर्माण भइसकेको र भवनको, पेटी, टायल, ग्रिल, बाउन्ड्रि लगाउन बाँकी नै रहेको बताए ।
उनले भने, ‘वडा कार्यालय व्यवस्थापनका लागि तीन लाख ९० हजार रुपैयाँ वडा कार्यालयले छुट्याएको छ बजेट अभावकै कारण समयमै भवन निर्माण हुन नसकेको जोशीले बताए । सचिव जोशीका अनुसार वडा कार्यालयमा उचित व्यवस्थापन नहुँदा दिनहुँ सेवा लिन आइरहेका सेवाग्राहीले निकै सास्ती खेप्नु परिरहेको बताए ।
भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र विष्टले आफ्नो कार्यकालमा सबै वडा कार्यालयका भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धताका साथ नगरपालिका–१९ को वडा कार्यालय भवन निर्माणकार्य सुरु गरेका थिए ।
त्यसैगरी उक्त वडा कार्यालयका स्थानीय प्रेम रानाले वडा कार्यालयमा उचित व्यवस्थापन नहुँदा सेवा लिन जाँदा पनि निकै सास्ती खेप्नुपरेको बताए । उनले भने, ‘वडा कार्यालयमा खानेपानी, शौचालय तथा सेवाग्राहीका लागि बस्ने उचित व्यवस्था छैन, सेवा लिन गएका स्थानीयले वडा कार्यालयको बाहिर आएर भुइँमा चप्पल राखेर बस्नु पर्ने हुन्छ ।’
त्यसैगरी भीमदत्त नगरपालिका इन्जिनियर रोहितप्रसाद जोशीले वडा कार्यालय भवन निर्माणका लागि आएको एक करोड ५२ लाख रुपैयाँबाट भवन निर्माणमा हालसम्म ९३ लाख २४ हजार रुपैयाँ निर्माणकार्यमा खर्च भएको बताए । भवन निर्माणकार्यको म्याद सकिएर पुनः म्याद थप गर्ने प्रक्रियामा छ भने, कोरोना, बजेट तथा समयको अभाव कारणले भवन निर्माणकार्यमा ढिलाइ भएको उनले बताए ।
उनका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा रहेका १९ वटा वडा कार्यालयमध्ये १७ वटा वडा कार्यालयका नयाँ भवन निर्माण भइसकेका छन् भने वडा नं ३ को भवन निर्माणका लागि डिपीसी हालिएको इन्जिनियर जोशीले बताए । इन्जिनियरका अनुसार, वडा नं १९ मा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काम तीन महिनामै सम्पन्न हुनेछ । भीमदत्त नगरपालिका–७ मा निर्माण भएको वडा कार्यालय भवन निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आएको छैन । कारोबार दैनिकबाट