काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र रहेको बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्ने भएका छन्। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए।
यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्ने विशेष भवन निर्माण आयोजनाले बताएको छ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्। त्यसका लागि सबै तयारी लगभग पूरा भएको उनले बताए।
तीन तलाको उक्त भवनमा सबै प्रकारका सुविधा रहेका छन्। आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था रहेको छ। विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको आयोजनाका एक कर्मचारीले जानकारी दिए।
दुई वर्षअघि विशेष भवन निर्माण आयोजनाले कन्टेक्ट प्रालि तीनकुनेसँग दुई वर्षभित्र भवन निर्माण पूरा गर्ने गरी ३३ करोड ८० लाख रूपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार प्रालिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा २ वटा भवन तयार गर्नुपर्ने छ।
२ वटा भवन साढे १३ हजार वर्गमिटर क्षेत्रफलमा छन्। प्रधानमन्त्री सर्न लागेको बंकरसहितको आवासीय भवनमा २२ वटा कोठा छन्। नयाँ भवनमा जिम हल, योग तथा पूजा कोठासमेत व्यवस्था मिलाइएको छ।
आयोजनाका अनुसार नयाँ भवनको रंगरोगन गरिएको छ। भवनभित्र फर्निचर, कार्पेट, सोफा, गलैंचा, टेलिभिजन, भान्सा सजावट, पर्दा, पलङ, टेबुल, कुर्सी, राख्ने काम भइरहेको छ। भवनबाहिर पनि सरसफाइ र सजावटको काम भइरहेको छ। यसका लागि आयोजनाले २ करोड ५० लाख रूपैयाँमा टेण्डर सम्झौता गरेको जनाएको छ।