विराटनगर। भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एक वर्षमा सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ। रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दूरीबाहेकको काम पनि ७० प्रतिशत सम्पन्न भएको छ।
भारतको रेलवे स्टेसन बथनाहादेखि आईसीपी इन्डिन कस्टमसम्म ५ किलोमिटर दूरीमा भइरहेको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैगरी बुधनगरस्थित नेपाल कस्टर्म यार्ड र विराटनगर–१८ को लावाघाटसम्मको दुई किलोमिटर दूरीको कामसमेत सम्पन्न भइसकेको साइट इन्जिनियर रोशनकुमार देवले जानकारी दिएका छन्। लावाघाटदेखि मोरङको कटहरीतर्फको ४ किलोमिटर दूरीमा ट्र्याक ओछ्याउने र त्यसपछिको ८ किलोमिटर दूरीमा ट्र्याक खोल्ने काम सकिएको इन्जिनियर उनको भनाइ रहेको छ।
त्यस्तै कटहरीस्थित महेशपुरमा रेलको अन्तिम स्टेसनको भवन निर्माण र बाँकी रहेको एक किलोमिटर दूरीको कामसमेत सुरु भएको छ भने विराटनगरको बुधनगरस्थित आईसीपीका लागि निर्माण गरिएको नेपाल कस्टर्म यार्डमा पैदल यात्रुलाई यात्रा गर्न ओभर हेड ब्रिजको निर्माण सुरु गरिएको छ।
कटहरी स्टेसनमा यार्ड र गोदामसहितका संरचना निर्माणका लागि स्थानीयवासीसँग सहमति गरिएको छ। मुआब्जामा चित्त नबुझाएका स्थानीयवासीसँग सर्वोच्चको आदेशअनुसार हुने सहमतिमा रेलमार्गको काम गर्न सहजीकरण गरिएको हो। हालकै स्थिति रहेमा आगामी वर्षभित्रमा काम सम्पन्न गर्ने भारतीय निर्माण कम्पनी इरकोनले दाबी गर्दै आएको छ।
सरकारले रेलमार्ग निर्माणका लागि ५६५ जग्गाधनीबाट ११९ बिघा जमिन अधिग्रहण गरेको थियो। जसमध्ये अब तीनवटा कित्ता जग्गा मात्रै रेल विभागको स्वामित्वमा आउन बाँकी रहेको छ। मुआब्जामा चित्त नबुझाएका कटहरी–१ का २२ घर स्थानीयवासीले अदालतको आदेशअनुसारको निर्णय मान्न तयार भएर निर्माणको काम गर्न दिने सहमति दिएको इन्जिनियर देवले जानकारी दिएका छन्।
बुधनगरको नेपाल कस्टम यार्डसम्म २०७५ कात्तिक १८ गते रेलको लिकमा रेल इन्जिनसमेत परीक्षण गरिसकिएको थियो। हाल त्यहाँसम्म रेल ल्याउन सकिने विषयमा सरकारीस्तरमा छलफल भइरहेको छ। रेलमार्ग विस्तार र प्रगतिको विषयमा मङ्गलबार सम्बन्धित क्षेत्रका अधिकारीसँग छलफल गरिने मोरङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। विराटनगरका उद्योगी व्यवसायीले बुधनगरसम्म कन्टेनरमा मालवस्तु बोकेर आएको रेललाई ल्याउन पहल गरिदिनुपर्ने माग गर्दै आएका छन्। सो परियोजनाको कुल लागत अर्ब भारतीय रुपियाँ रहेको छ।