जाजरकोट। शे–फोक्सुण्डो तालसम्म पुग्न चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आन्तरिक तथा बाह्य पर्यटकले आग्रह गरेका छन्। डोल्पाको सदरमुकामनजिकै रहेको सुलिगाडदेखि तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण भए पर्यटक तान्ने सम्भावना बलियो रहेको आगन्तुकको भनाइ छ ।
अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदलै फोक्सुण्डो ताल पुग्ने गर्छन् । ताल पुग्न आधा दर्जन काठको जीर्ण पुलमार्फत् सुलिगाड खोला तर्ने गरिन्छ । जीर्ण रहेका काठका लाप्का तरेर वारपार गर्दा दुर्घटनाको सम्भावना हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताए । डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ ।
सुलिगाडबाट पैदल हिँडेर तालसम्म पुग्न दुई दिन लाग्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्ग भरपर्दो भए आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न र आउन सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्लो वर्ष तालसम्म पुग्न धेरै व्यक्तिको चासो बढेको छ । फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँ नजिकै रहेको छ ।
समुद्री सतहदेखि ३६ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल ४।९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ १४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार ६५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटकपटक रङ परिवर्तन गर्ने यस ताल अंग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अंग फोक्सोजस्तो पनि देखिन्छ ।
फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगार्डदेखि माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाको लागि भनेर भेरिवा खोलाको एक किनारादेखि अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ ।
डोल्पाका अधिकांश खोलानालामा झोलुंगे पुल निर्माणकार्य जारी रहे पनि सुलिगार्डदेखि फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगार्डदेखि फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय नागरिक र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झलुंगे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले बताए ।
उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको वडाध्यक्ष लामाको भनाइ छ । पदमार्गमा बीचबीचमा होटल तथा अन्य सुविधाजन्य काम गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटोमा समस्या आएको ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् । त्यस्तै स्थानीयबासीलाई समेत गतिलो बाटो नहुँदा समस्या हुँदै आएको छ। कारोबार दैनिकबाट