काठमाडौँ। सर्वोत्तम सिमेन्ट र शक्ति मिनिरल्सले चुनढुंगा खानी उत्खनन्का लागि स्वीकृति पाएका छन्। खानी तथा भूगर्व विभागले उनीहरूलाई धादिङमा चुनढुंगा खानी उत्खननको अनुमति दिने भएको हो।
शक्ति मिनिरल्सलाई १७ करोड ७ लाख रुपैयाँमा विभागले बेनिघाट–रोराङ गाउँपालिका धादिङको चुनढुंगा खानी दिने भएको छ।
त्यस्तै सर्वोत्तम सिमेन्टलाई पनि धादिङकै सोही गाउँपालिकामा रहेको चुनढुंगा खानी १५ करोड १ लाख रुपैयाँमा दिने गरी सम्झौता हुन लागेको हो। विभागले खुला बोलकबोलमार्फत खानी सञ्चालनका लागि आह्वान गरेकोमा यी उद्योगहरू छनौट भएका हुन्।
यसका साथै अरिहान्ट इन्फ्रास्ट्रक्चर, गोर्खा रिसोर्स म्यानेजमेन्ट, प्राइम रिसोर्स, दोङ्गी मिनिरल्स, काठमाडौँलाई खानी सञ्चालनको अनुमति दिने भएको छ। दोङ्गी मिनिरल्सले म्याग्दी जिल्लाको ओखरबोट, मालिका ४ मा तामा खानी सञ्चालन गर्ने भएको छ। खानी सञ्चालनका लागि भूगर्व विभागसँग दुई करोड २ लाख रुपैयाँमा सम्झौता हुन लागेको हो।
त्यस्तै, प्राइम रिसोर्सेज, ललितपुरले मकवानपुरको थाहा नगरपालिकामा काओलिन खानी सञ्चालनका लागि ७९ लाख ४० हजारमा सम्झौता गर्न लागेको छ। खानी तथा भूगर्व विभागले गोर्खाकै गोर्खा रिसोर्स म्यानेजमेन्टलाई गण्डकी गाउँपालिका ग्याल्चोकमा बालुवा खानी सञ्चालन गर्न दिने भएको छ। १० लाख ११ हजार रुपैयाँमा गोर्खा रिसोर्सेजले बालुवा खानीका लागि सम्झौता गर्न लागेको हो।
खानी तथा भूगर्व विभागका अनुसार विराटनगरको आरिहान्ट इन्फ्रास्ट्रक्चर विराटनगर २ करोड २५ लाख रुपैयाँमा मकवानपुर गढी गाउँपालिकामा मार्बल खानी सञ्चालनका लागि छनौट भएको छ।