काठमाडौं। कोरोना भाइरस संक्रमणबाट प्रभावित निर्माण व्यवसायीका लागि नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने सहुलियतका लागि आवेदन दिने समय आगामी मंसिर १७ गतेसम्म रहेको छ। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने क्रममा समस्यामा परेका ऋणी व्यवसायीले यस वर्षको सहुलियतका लागि आवेदन दिने मिति आगामी शुक्रबार अर्थात मंसिर १७ गतेसम्म तोकेको हो।
निर्माण व्यवसाय क्षेत्रमा काम गर्न आफ्नो बैंकबाट ऋण लिएका व्यवसायीलाई शुक्रबारसम्म आवश्यक कागजातसहित बैंकमा आवेदन दिन आफ्ना ग्राहकहरुलाई आग्रह गरिसकेको सिटिजन बैंकले जनाएको छ। यस व्यवस्था अनुसार ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका निर्माण क्षेत्रका व्यवसायीले कुनै एउटा बैंकबाट लिएको ऋणको ब्याजमा सहुलियत पाउने छन् । यस्तो सहुलियत अन्तर्गत ऋणको ५ प्रतिशत व्याज ऋणीले तिनुपर्ने छ भने बाँकी व्याज राष्ट्र बैंकले तिरिदिने छ।
पुनरकर्जाका लागि आवेदन दिँदा कम्पनीको प्रकारअनुसार विभिन्न कागजात पेश गर्नुपर्ने हुन्छ । समग्रमा पुनरकर्जाका लागि बैंकले कम्पनीहरुसँग माग गरेका कागजात यसप्रकार छन् :
(१) ग्राहक ऋणीले पुनरकर्जा सुविधाको लागि पेश गरेको निवेदन,
(२) कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण,
(३) पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र,
(४) कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण,
(५) ग्राहक ऋणीले यस भन्दा अगाडि उपयोग गरेको पुनरकर्जा सुविधाको रकम तथा अवधि सम्बन्धी विवरण समेत आवेदनमा खुलाउनु पर्नेछ ।
(६) ग्राहक ऋणीले अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा ।
(७) रोजगारी सृजना, विदेशी मुद्रा आर्जन लगायत अर्थतन्त्रमा पुर्याएको योगदान सहितको कम्पनीको संक्षिप्त विवरण ।
सबै कम्पनीका लागि यी सबै कागजात आवश्यक नपर्न पनि सक्छन्। निर्माण व्यवसायीहरुले सहुलियतका लागि बैंकमा आवेदन दिन जाँदा आफूलाई आवश्यक पर्ने कागजातका बारेमा बैंकमा बुझेर लिएर जान सक्नेछन्।
सन् २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण यतिबेला विभिन्न भेरियन्टको रुपमा विश्वभर फैलिरहेको छ। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न विश्वका अधिकांश मुलुकले निषेधाज्ञाको उपाय अपनाएका थिए । नेपालले पनि दुई चरणमा गरेर देशभर लामो समय निषेधाज्ञा लागू गर्यो । यस अवधिमा देशभरका विभन्न उद्योग व्यवसाय, व्यापार चौपट भए। त्यसको अपवाद बन्न सकेन निर्माण व्यवसाय क्षेत्र पनि। देश विकासको महत्वपूर्ण अंग निर्माण व्यवसाय क्षेत्र पनि कोरोनाका कारण लागू गरिएको निषेधाज्ञाका कारण नराम्ररी थला पर्यो।
कोरोना भाइरसका कारण देशभरका थला परेका उद्योग व्यवसायलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले पुनरकर्जा प्रवाह गर्ने व्यवस्था गरेको थियो। बैंकले २०७७ श्रावण ६ गते जारी गरेको 'पुनरकर्जा कार्यविधि' नामक सूचनामा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने क्रममा समस्यामा परेका ऋणीहरुलाई अधिकतम २० करोड रुपैयाँसम्मको पुनरकर्जा उपलब्ध गराउने उल्लेख गरेको थियो। यसका लागि नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७’ को मस्यौदामा उच्च जोखिममा परेका ऋणको वर्गीकरण समेत गरेको थियो।
यस वर्षको बजेट वक्तव्यमा कोरोनाबाट प्रभावित कर्जाका लागि ५ प्रतिशत व्याजदरमा पुनरकर्जा उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको पुनरकर्जा कोषको व्यवस्था समेत गरिएको थियो।
सोहि पुनरकर्जाको व्यवस्था अनुसार राष्ट्र बैंकले निर्माण व्यवसायीलाई पनि साधारण सहुलियत दिने निर्णय गरेको थियो। राष्ट्र बैंकले दिने भनिएको उक्त सहुलियत अन्तर्गतको यस वर्षको सहुलियतका लागि निर्माण व्यवसायीले आफूले ऋण लिएको बैंकमा यहि मंसिर १७ गतेभित्र आवश्यक कागजात बुझाउन राष्ट्र बैंकले सम्पूर्ण ऋणी निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ।