जाजरकोट। हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएका छन् । शनिबार मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा ट्याक्टर पर्याएसँगै मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएका हुन् ।
सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत २०७५/०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । मुस्ताङ–डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्रयाक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए ।
मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङले अख्तियारी प्राप्त गरेको थियो । सडकका लागि २० करोड लगानी भइसकेको छ । ६ महिनाअघि मुस्ताङ–डोल्पा सडकको ४६ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खुल्ला भइसकेकोमा त्यसयता करिब १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ–डोल्पा सडकको ट्रयाक खुल्ला गरिएको छार्काताङसोङ गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज सेजुवालले बताए ।
सडक जोडिएसँगै स्थानीय बासिन्दा खुसी भएको उनले बताए । गत वर्ष नयाँ ट्रयाक खोल्न मन्त्रालयले तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्ष नयाँ ट्रयाक खोल्नमात्र मन्त्रालयले दुई करोड बजेट छुट्याएको थियो । मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्रयाक खोल्नका लागि सिखा इन्जिनियरिङ र पम्फा जेभी कन्स्ट्रक्सनले जिम्मा पाएका थिए । उता उपल्लो डोल्पाको छार्का ताङसुङ गाउँपालिकाले मुस्ताङतर्फ जोड्न सडक ट्रयाक खोल्ने काम गरेको थियो ।
मुस्ताङ–डोल्पाको सामूहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ चार वर्षपछि सडक सञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । डोल्पाबाट मुस्ताङतर्फ सडक ट्रयाक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गरेका थिए । मुस्ताङ–डोल्पा सडक ट्रयाक एकआपसमा जोडिएसँगै दुवै सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासी खुसी भएका छन् ।
यसैबीच मुस्ताङ र डोल्पाको सिमाना सेटाङथाङसम्म दुवैतिरका ट्याक्टरबाट मालसामान ढुवानी गरी गन्तव्यमा पुगेको छन् । शनिबार सडक सञ्जालले जोडिएपछि उपल्लो डोल्पास्थित छार्का ताङसुङका वडाध्यक्ष धवालवाङ गुरुङले निर्माण कम्पनीका उपकरण अपरेटर, मुस्ताङका प्रतिनिधि र डोल्पास्थित छार्का ताङसुङको अध्यक्ष सेनाङ गुरुङलाई अबिरसहित खादा लगाएर सम्मान गरेका थिए । मुस्ताङ–डोल्पा सडक समुद्रि सतहको ४५ सय मिटरको अग्लो उचाइमा सडक विस्तार गरी बनाइएको हो ।
हिमाली क्षेत्रका चार जिल्लाका बासिन्दालाई यातायातको सुविधा, मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न यो सडकसँगै निकै सहज हुने वारागुङ मुक्तिक्षेत्र(५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई मुस्ताङ आएर मालसामान ढुवानी गर्न हप्तौंदिन लाग्ने गर्दथ्यो । सडक विस्तारसँगै अब एकैदिन डोल्पा आउजाउ गर्न सकिने छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । उनले उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम दुनैभन्दा नजिकको दूरी मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न नजिक पर्ने उनको भनाइ छ । कारोबार दैनिकबाट