काठमाडौं। आर्थिक वर्ष २०७१/७२ को बजेट वक्तव्यका क्रममा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले झापामा चिया अक्सन सेन्टर (लिलाम केन्द्र) बनाउने घोषणा गरेका थिए। निर्यातजन्य वस्तु चियाको अन्तर्राष्ट्रिय ब्रान्ड कायम गरी पारदर्शी व्यापार गर्ने अक्सन सेन्टरको उद्देश्य रहेको थियो। तर घोषणा भएको ७ वर्ष बितिसक्दा पनि अक्सन सेन्टर हालसम्म बन्न सकेको छैन।
अक्सन कमिटी निर्माण र तिनीहरूको बैठक, निर्देशिका र सफ्टवेयर निर्माण, फर्निचर खरिद, भारतको सिलिगुडी र कोलकातालगायत क्षेत्रको अवलोकन भ्रमणमा मात्रै हालसम्म करिब ९० लाख रुपैयाँ खर्च भइसकेको छ। यत्रो रकम खर्च भइसक्दा अक्सन सेन्टर भने अलपत्र अवस्थामा रहेको छ। अक्सन सेन्टरका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको तर सरकारको निर्णय कुर्दाकुर्दै यतिका समय बित्दा पनि अक्सन सेन्टर निर्माण हुन नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मेचीका पूर्वप्रमुख इन्द्र अधिकारीले जानकारी दिएका छन्।
व्यवसायीलाई स्टकका आधारमा राष्ट्र बैंकमार्फत सहुलियत ऋण दिनुपर्ने, अक्सनमार्फत आउनेलाई १० प्रतिशतभन्दा कम कर लगाइनुपर्नेलगायत व्यवसायीका मागप्रति सरकार गम्भीर नबन्दा अक्सन सेन्टर सञ्चालन हुन नसकेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुकुमार भट्टराईले बताएका छन्। अक्सन सेन्टर सञ्चालनका लागि अर्थ, वाणिज्य, कृषि मन्त्रालय र राष्ट्र बैंकको प्रत्यक्ष संलग्नता जरुरी हुने उनले बताएका छन्। बोर्डले यसै वर्ष पनि अक्सन सेन्टर सञ्चालनको पूर्वतयारी शीर्षकमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाली चिया प्रवद्र्धनका लागि विभिन्न देशहरूसँग जीटूजी र बीटूबी गरिनुपर्ने उनको भनाइ रहेको छ। यसैगरी बोर्डले चीन र रुससँग जीटूजी र बीटूबी सुरु गरेको उनले बताएका छन्। पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) अन्तर्गत अक्सन सेन्टर निर्माण गरिनुपर्ने उनले जानकारी दिएका छन्। राजनीतिक चलखेलका कारण अक्सन सेन्टर अलपत्र परेको बोर्डका पूर्वउपाध्यक्ष रोमनाथ ओलीको दाबी रहेको छ।
अक्सन सेन्टर सञ्चालनार्थ बोर्डले चिया उद्यमी सुरेश मित्तलको संयोजकत्वमा उद्योगी व्यवसायी सम्मिलित ‘अक्सन कमिटी’ पनि बनाएको थियो। यो समितिले चियाको दरभाउ निर्धारण गर्नेलगायत कामको जिम्मेवारी पाएको थियो। अक्सन सेन्टरमा क्रेता र बिक्रेताबीच मोलमोलाइबाट चिया बिक्री गरिन्छ, जसको गुणस्तरसमेत मापन गरिन्थ्यो। यसबाट भारत तथा तेस्रो मुलुकका क्रेताहरू आकर्षित हुनुका साथै किसानले चियाको उचित मूल्य पाउने त थिए नै, व्यवसायीबीचको प्रतिस्पर्धाले चियाको गुणस्तर कायम गर्ने सवालमा पनि टेवा पुग्ने थियो। तर हाल अक्सन सेन्टर निर्माण कार्य नै अलपत्र अवस्थामा रहेको छ।