काठमाडौं। रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीको सांस्कृतिक भ्रमण सम्पन्न भएको छ। ‘झीगु संस्कृती म्हसिका’ भन्ने मुल नाराका साथ कार्तिक २० गते रत्न राज्यका नेपाल भाषाका विद्यार्थीहरु सांस्कृतिक भ्रमणमा गएका हुन्।
उनीहरुले खोकना (खोना, खोखना), बुङ्ग, मच्छिन्द्र बहाल, ह्येग्रिव भैरव, मनकामना, प्रथमपुर बिहार, कार्यबिनायक र सिकालीमाई भ्रमण गरेका छन्।
भ्रमण टोलीलाई ललितपुर महानगरपालिका २२ नं वडा अध्यक्ष सागर तुलाधरले स्वागत गर्नुका साथै सांस्कृतिक भ्रमण गरेकामा खुसी समेत व्यक्त गरे। अध्यक्ष तुलाधरले आफ्नो वडाबाट नेपाल भाषा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने र आफ्नो वडा भित्र रहेका मुर्त अमुर्त सम्पदा संस्कृतिको अध्ययन अनुसन्धान गर्नेलाई दुई लाख सम्मको बजेट प्रदान गर्ने घोषण समेत गरे।
खोकना निवासी देय् दबु राष्ट्रिय परिषद सदस्य शरण गोपाल डंगोल, अजिल तुलाधर, कविराज बज्राचार्य, रममान महर्जन, प्रा.डा चन्द्र मान बज्राचार्य, डा.बज्रमुनी बज्राचार्य सहप्राध्यापक सुनिता राजभन्डारी लगायतले सहजकर्ताको भुमिका निभाएको भ्रमणका एक विद्यार्थी प्रशान्त डंगोलले जानकारी दिए। भ्रमणको व्यवस्थापकको भुमिका राजन डंगोलले निभाएका थिए।
भ्रमणको बीचबीचमा मनोरन्जन गर्नको लागि लमेकवार्ता, लोकभाका, नृत्य जस्ता संक्षिप्त कार्यक्रम गर्दै सांस्कृतिक भ्रमण कार्यक्रम अविस्मरणीय बनेको भ्रमण टोलीले बताए।