बिर्तामोड। बजेट अभावले झापाको कमल गाउँपालिका–६ स्थित पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माण अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भए पनि बजेट अभावमा पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
२०७९ साल चैतमा साढे तीन किलोमिटर चार लेन सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको र गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारण बजेटमा समस्या भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी गौतमकुमार देवले बताए ।
गत आर्थिक वर्षमै पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणको काम सकेको भए बजेटको समस्या नहुने बताउँदै उनले चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणको बजेट समावेश नहुँदा समस्या भएको जनाए । पूर्व पश्चिम राजमार्गसँग सीमा जोडिएको कमल गाउँपालिका–६ मा बन्दै गरेको पाडाजुङ्गी–गौरीगन्ज सडकको सबै काम पूरा भए पनि बजेट अभावमा कालोपत्रे गर्न नसकिएको उनको भनाइ छ ।
पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणका लागि ठेकेदार कम्पनी खरिढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले ६ करोड ५० लाख रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए । पुरानो कालोपत्रे भत्काएर नयाँ निर्माणको कामसमेत नभएपछि हाल धुलोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका, बिरामीलाई थप समस्या परेको छ ।
त्यस क्षेत्रमा दुर्घटनाको जोखिम र धुलोबाट पीडित बढेपछि पाडाजुङ्गी–गौरीगन्ज सडक बन्द गराउन र खुलाउन भन्दै दैनिकजसो सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र लिएर स्थानीयवासी, जनप्रतिनिधि आइरहेको उनले बताए । पाडाजुङ्गी–गौरीगन्ज सडकको निर्माण कार्य पूरा गर्नका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा अर्थ मन्त्रालयमा फाइल समावेश गरी बजेट निकासाका लागि पहल गरिरहेको उनले बताए ।
यसैबीच झापाको पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणलाई तीव्रता दिन झापाका जनप्रतिनिधि सहितको प्रतिनिधि मण्डलले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहाल, कमल गाउँपालिकाका पूर्वउपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायतको टोलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल लगायतलाई भेट गरी झापाको पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणलाई तीव्रता दिन आग्रह गरेको हो ।
त्यस क्रममा सचिव शर्माले निर्माण कार्य रोकिएको विषयमा मन्त्रालय र विभागको ध्यानाकर्षण भएकाले अविलम्ब निर्माण कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको टोलीमा सहभागी शिवाकोटीले जानकारी दिए । यस्तै कमल गाउँपालिकाका पूर्वउपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, एमाले नेताहरू मोहिनी खनाल, ईन्द्र भण्डारीलगायतको टोलीले अर्थ मन्त्रालयका सहसचिव तथा बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्री, उपसचिव केशव उप्रेतीलगायतसँग भेट गरी झापाको पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणका लागि थप बजेट व्यवस्था गरिदिन आग्रह गरेको थियो ।
यता निर्माण कम्पनी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले पुरानो रकम भुक्तान गरी नयाँ सुनिश्चितता भए तुरुन्तै निर्माण कार्य अघि बढाउने जनाएको छ । संघीय सरकारले ठेक्का लगाएको उक्त सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेका कारण निर्माण तथा कार्यान्वयनमा समस्या देखिएकाले सरकारी अधिकारीले सबै प्रकृया र जटिलताको अन्त्य गरी पाडाजुङ्गी–गौरीगन्ज सडक निर्माणलाई गति दिने प्रतिबद्धता जनाएको शिवाकोटीले बताए । कारोबार दैनिकबाट