काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी, नयाँपुलमा हाइ इन्ड हेलि रिसोर्ट तयार भएको छ। हेलिकोप्टर वा गाडीमा सहज आउजाउसँगै खानबस्न र साहसिक खेल गतिविधिको मज्जा लिन चाहनेहरुका लागी सेवा दिन उक्त रिसोर्ट तयार भएको हो।
क्यासिनोसहितको उक्त रिसोर्ट हाल पहिलो चरणको निर्माण पुरा भएर सञ्चालनको तयारीमा छ। आगामी डिसेम्बरको अन्तिम साताभित्रै व्यवसायिकरूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ।
९० रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको उक्त रिसोर्ट ८४ कोठा क्षमताको छ। रिसोर्टले आउँदो जनवरी पहिलो साताबाट २४ वटा कोठा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
रिसोर्टले हेलिकोप्टर कम्पनीहरूसँगको सहकार्यमा अफरका प्याकेज तयार गरेको छ। तीन वर्ष अगाडि निर्माण सुरु गरिएको उक्त रिसोर्टको निर्माण सम्पन्न भइ सक्दा एक अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। सञ्चालक उमेश गुप्ताले भने अहिलेसम्म लागत ५५ करोड पुगिसकेको छ। निर्माणको काम जारी नै छ।
आन्तरिक र बाह्य दुवै पर्यटकलाई सुपथ मूल्यमा हाइ इण्ड सेवा दिने उद्देश्यले यो रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए। यहाँ स्वदेशी, चाइनिज, इन्डियनसँगै पाँच देशका टुरिस्ट गाडी लिएर आउन सक्छन्। रिसोर्टको हेलि प्याकेजमार्फत विभिन्न एकै दिनमा आएर बैठक गरेर आउजाउ गर्न सक्ने उनले जानकारी दिए।
रिसोर्टले हेलि प्याकेजअन्तर्गत प्रतिव्यक्ति २५ हजार रुपैयाँमै एक रात दुई दिनको बसाई, खानपिन र आउजाउको सेवा दिने उनले बताए। रिसोर्टमा पाहुनाले तातोपानी (नेचुरल हट स्प्रीङ वाटर) युक्त स्विमीङ पुलको सेवा लिन सक्ने पनि जानकारी दिए।
रिसोर्ट चिनियाँ नाका नजिक भएकाले यताको रुटमा आउने पर्यटकको सेवालाई ध्यानमा राखेर रिसोर्ट डिजाइन गरिएको उनले बताए। घुमघाम रुचाउनेले यताको टुरिस्ट प्याकेज अरुतिरको भन्दा फरक खालको पाउँछन्। रिसोर्ट सञ्चालन आएसँगै पर्यटकले कैलाश मानसरोवर यात्रा, एभरेष्ट साइटिङ, कालिञ्चोक दर्शन, पाँचपोखरी, र्याफ्टिङ, बन्जी लगायत गन्तव्य र पर्यटकीय गतिविधिमा सामेल हुन सक्ने उनले बताए।
अहिले २४ वटा कोठा संचालनमा ल्याउने योजना बनाएका छौं। अबको एक वर्षमा कोठा क्षमता ८४ वटा पुर्याउँछौं। सन् २०२२ सम्ममा क्यासिनो पनि सञ्चालनमा ल्याउने व्यवसायिक योजना रहेको उनले जानकारी दिए।
रिसोर्टका अनुसार हेलिकोप्टर र गाडीमार्फत एक रात दुई दिनको प्याकेजका लागि प्रतिव्यक्ति करबाहेक २५ हजार र आठ हजार रुपैयाँ निर्धारण गरिएको छ।
रिसोर्टमा स्विमीङ पुल, चारवटा बैंक्विट, कन्फ्रेन्स, सेमिनार लगायतका हल छन्। उनका अनुसार रिसोर्टमा न्यूनतम तीन सयदेखि १५ सय जनाको क्षमता छ। रिसोर्टले पाहुनाका लागि निःशुल्क र्याफ्टिङको व्यवस्था पनि गरेको छ।