काठमाडौं। पोखरा महानगरपालिका २९ लेखनाथको घोतघोतेमा संचालित दृष्टिबिहिन आश्रममा आगलागि हुँदा नगद आठ लाखसहित करीब ३० लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ।
अपाङ्गगता मैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको उक्त आश्रममा आगलागी हुँदा दृष्टिविहीनहरुले बजारमा बेच्ने गरेका अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामाग्रीहरु, लत्ताकपडा पनि पूर्ण रुपमा जलेका छन् । ए पाँच कोठे घरसमेत जलेर ध्वस्त भएको बताइएको छ।
दृष्टिविहीनहरुले घरघर डुलेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेच्ने गर्दथे । यसरी जम्मा गरेको करिब आठ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको आश्रम सञ्चालक सुशील गोदारको दाबी छ । जसमध्ये एक लाख नगद आधा जलेको अवस्थामा फेला परेको छ ।
आश्रम सञ्चालक गोदारका अनुसार, आश्रममा ३० जना बस्छन् । तर, चाडबाडका कारण घर गएकाले १० जना मात्रै थिए । उनीहरू देउसी खेल्न लेकसाइड निस्केका बेला बुधबार बेलुकी ९ बजेतिरबाट आगलागी सुरू भएको अनुमान गरिएको छ ।
सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको गुनासो गरेका छन् ।आगलागि पछि त्यहाँ बस्दै आएकाहरुको विचल्ली भएको बताइएको छ।