काठमाडौं। चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको बिजुलीको पहुच पुगेको छ। विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत् विस्तार गरेका हुन्।
चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती नेचुङ र छोसेर हुन्। दुई वटा वडाका १५० घरधुरीमा बिजुली बत्ती बालिएकोे प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले जानकारी दिएका छन्। हाल लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ भने लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको ५ वटा वडामध्ये एक वडाबाहेक अन्य सबैमा विद्युतको पहुँच पुगिसकेको छ।
भौगोलिक रूपमा विकट र दुर्गम रहेको सीमावर्ती गाउँमा विद्युत् सुविधाको पहुँच पुगेपछि स्थानीयवासी खुसी हुनुका साथै यसबाट घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको जानका्री दिएका छन्। बिजुलीको पहुँच पुग्नुभन्दा पहिले त्यहाँका स्थानीयले उज्यालोका लागि सौर्य ऊर्जा र टुकी बाल्ने गरेका थिए। चालू आर्थिक वर्षभित्रै उपल्लो मुस्ताङका दुई गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्ने तयारीसहित काम भइरहेको केन्द्र प्रमुख नेपालले जानकारी दिएका छन्।
त्यसैगरी ११ केभी क्षमताको लाइनबाट चीनको सीमावर्ती बस्तीसम्म विद्युतीकरण गरिएको निर्माण व्यवसायी दिनेश ढुंगानाले जानकारी दिएका छन्। विद्युत् प्राधिकरणसँग बेनीको न्यू ढुंगाना निर्माण सेवा कम्पनीले त्यहाँ विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको थियो। तार, खम्बा र उपकरण प्राधिकरणले खरिद गरेर ढुवानी गर्ने र जडानको काम ठेकेदार कम्पनीले गर्ने भएको छ। मुस्ताङमा निलगिरि उपभोक्ता सहकारी संस्थामार्फत विद्युत् वितरण र महसुल संकलन गरिँदै आएको जानकारी दिइएको छ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बिनियोजन भएको बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाइनका १८० खम्बापुर्याइएको उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिएका छन्। यसैगरी लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान खम्बा प्रदेश सरकारले दिएको थियो।
म्याग्दीको दानासम्म ल्याइएको खम्बा, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माणस्थलमा पुर्याएका थिए। लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघि नै विद्युतको पहुँच पुगेको थियो।