काठमाडौं। नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो ।
कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो साताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ ।
कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए । घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तिब्रता दिन निर्देशन दिए ।
‘मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने,ख‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको शुख्खायामको विद्युत्को माग धान्नका लागि ठूलो सहयोग गर्छ,त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं ।’
बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ ।