म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको ८ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए । पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले निराश भएका छन् ।
“पुल बन्ला भनेर आलु, बन्दा, काउली, जागर, किबी लगाएका थियौँ,” कुञ्जोकी नन्दकुमारी तुलाचनले भनिन्, “पुल नबन्दा उत्पादन गरेका तरकारी र फलफूल बजार पु¥याउन नसकेपछि कुहिएर खेर फाल्नु परेको छ ।”
बर्खायाममा कालीगण्डकीमा बाढीको सतह बढेर सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले तरकारी तथा फलफूल बारीमै कुहिने गरेको स्थानीयवासीले बताए । “वर्षामा बाढीका कारण सवारी चल्दैनन् । भरियालाई बोकाएर बजार लैजादा ढुवानी खर्चका कारण बढी मूल्य पर्छ।”
पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता ठेक्का सम्झौता भएको थियो ।
योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक १४ करोड १९ लाख ६५ हजार ८ सय ८१ रुपैयाँ पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले शनिबार निर्माणाधीन छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका थिए । “पूर्वाधार विकास कार्यालय, मन्त्रालयका अधिकारी, निर्माण व्यवसायीसँग ढिलाइका विषयमा छलफल गरी निर्माणलाई गति दिने वातावरण बनाउछु,” उनले भने, “निर्माण व्यवसायीलाई काममा फर्काउन ताकेता भइरहेको छ । काम नगरे कारबाहीसँगै ठेक्का तोडेर पुल निर्माणलाई पूर्णता दिन्छौं ।”