जुम्ला। कर्णाली प्रदेशको मुगु जिल्लाको पूर्व क्षेत्रमा रहेको धार्मिक पर्यटकीय गन्तव्य छायाँनाथ धाम विश्वका पाँच ठूला धाममध्ये एक पर्छ । भारतको उत्तराखण्डमा रहेको केदारनाथ, बद्रिनाथ र नेपालको पशुपतिनाथ र मुक्तिनाथ भन्दा मुगुङ कार्मारोङ–२ चिताई गाउँको शिरमा रहेको छायाँनाथ धामलाई विश्वकै जेठो धामका रुपमा मानिन्छ ।
जुन मुलुककै पर्यटकीय गन्तव्य मात्र नभई कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकका लागि धार्मिक आस्थाको धरोहरका रुपमा छ । नेपाली समाज पुजापाठ र देवी देवतामा आस्थावान समाज हो । अझ कर्णालीमा घरघरका धामी र देवता छुट्टाछुट्टै हुन्छन् । वर्षको चार पूर्णिमामध्ये कर्णालीमा साउन पूर्णिमालाई विशेष रुपमा हेरिन्छ । यो पूर्णिमाले धार्मिक पर्यटन प्रर्बद्धनमा उल्लेखीय योगदान दिएको हुन्छ ।
साउन नागपञ्चमीबाट सुरु हुने बाजुराको बडिमालिका र मुगुको छायानाँथ धामको तीर्थ यात्राले कर्णालीको धार्मिक परम्परा, संस्कृति रीतिरिवाजको मात्रै संरक्षण भएको छैन, आन्तरिक तथा बाह्य पर्यटकको पनि आर्कषण बढ्न थालेको छ । छायाँनाथमा विगतमा धामी झाँक्री मात्र तीर्थ यात्रा जाने गरेपनि हाल आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढेको हो ।
समुद्री सतहदेखि ५ हजारबढी मिटर उचाइमा रहेको ढुंगैढुंगाले बनेको छायाँनाथको गाँथ, शिव र बुद्धको मूर्ति अनि ऐना जस्तै अघि उभिएको पर्वत, हरियो तन्ना विछ्याए झै देखिने रारा ताल, कान्जिरोवा हिमालको अवलोकन, हरियाली डाँडा पाखा, २२ पाटन, २२ पाखा, र स्नानपछि एकाएक देवता चड्ने, भाग पाइसकेपछि नरोकिएर रुपलिनि सुनलिनिमा चितुवाई कुदाई गर्ने धामी झाँक्री, बुकीको सुगन्धलगायतका पक्षहरु छायाँनाथका विशेषता र आर्कषण हुन्। कारोबार दैनिकबाट