काठमाडौं। म्याग्दीका जङगलहरुमा वर्षौदेखि अलपत्र अवस्थामा रहेका स्लेट, तामा र चुनढुङगा खानी हालसम्म सञ्चालनमा ल्याउने तयारी नहुँदा स्थानीयवासी निराश बनेका छन्। पश्चिम र उत्तरी म्याग्दीका दर्जन बढी ठाउँमा रहेका खानी अलपत्र अवस्थामा रहेका छन्। तामा, स्लेट, शिलाजित, खरी, चुन ढुङगाका खानी उत्खनन् हुन सकेका छैनन्। ती खानीहरु संरक्षणको अभावमा पुरिँदै गएका छन्।
उक्त खानीको संभाव्यता अध्ययन गर्नको लागि सम्बन्धित निकायले चासो देखाएको छैन्। तर लुलाङ र रुममा रहेका स्लेट खानीबाट परम्परागत रुपमा उत्खनन् भइरहेको छ। भगवतीको खरिढुङगा खानी र ओखरबोटको तामा खानी वर्षौदेखि बन्द भएका छन्। सो क्षेत्रको तामाखानी २ सय वर्षसम्म सञ्चालनमा रहेका थिए भने तत्कालिन सरकारले खानी उत्खनन् गरेबापत लिने कर तिर्न नसकेपछि राणाकालमा र्नै खानी उत्खनन् कार्य बन्द भएको थियो।
राणाकालमा बन्द भएको खानी उत्खनन् गणतन्त्र स्थापना भएको एक दशक नाघिसक्दा पनि सञ्चालनमा ल्याउन नसकेको छन्त्याल समुदायले जानकारी दिएको छ। गुर्जा, ताकम, कुइनेमंगले, ओखरबोटे, मल्कवाङ, भकिम्लीलगाएत जिल्लामा करिब २० वटा तामाखानी रहेका छन्। खानी उत्खनन्को लागि छन्त्याल समुदायलाई जिम्मा दिइएको थियो।
खानी उत्खनन्को लागि सरकारले कदम चाल्नुपर्ने म्याग्दीका उद्योगी तथा पर्यटन व्यवसायीले बताएका छन्। नीतिगत रुपमा सहज र पूर्वाधारको विकास भए खानी उत्खनन्का लागि लगानीको कुनै समस्या नहुने जनाइएको छ। खानी सञ्चालनको अनुमतिको लागि पटक–पटक संघीय सरकारसँग अनुमति माग गर्दै डेलिगेसनमा पनि गएको तर हालसम्म सुनुवाई नभएको मालिका गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। साथै संघीय सरकारको अनुमति विना स्थानीय सरकारले सञ्चालन गर्न नपाउने नीतिगत व्यवस्था भएकाले समस्या उत्पन्न भएको उनले जानकारी गराएका छन्।
संघीय सरकारको मातहतमा रहेको खानी तथा पुरातत्त्व विभागले स्थानीय सरकारलाई अनुमति नदिँदा हजारौँ जनताले रोजगारी पाउने र वार्षिक करोडौँ रुपैँया राजस्व आम्दानी हुने खानी अलपत्र अवस्थामा रहेको त्यहाँका स्थानीयको भनाइ रहेको छ।