जुम्ला। कर्णालीका ग्रामीण भेगमा बढ्दो भूकम्पीय जोखिम र विद्यालयमा शतप्रतिशत बालबालिकाको पहुँच वृद्धि गर्न ३ करोड रुपैयाँमा नभुना भवन बन्ने भएका छन् । पेश नेपाल, जुम्लाले आधार परियोजनामार्फत ३ करोड रुपैयाँ लगानी गरेर तीन पालिकामा पाँचवटा सुविधायुक्त विद्यालय भवन निर्माण थालेको हो, जसमा सिञ्जा गाउँपालिका वडा नंं। ६ जोडु गाउँको माध्यमिक विद्यालयमा ६५ लाख ३३ हजार रुपैयाँ लगानी गरेर चारकोठे भवन, कार्पेट, डेक्स–बेन्चसहितको व्यवस्थापन गरिने भएको छ ।
त्यस्तै, हिमा गाउँपालिकाको वडा नं. ७ स्थित महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरब आधारभूत विद्यालयमा १ करोड २४ लाख रुपैयाँ लगानी गरेर विद्यालय निर्माण भइरहेको पेश नेपाल, जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिए । कनकासुन्दरी गाउँपालिका वडा नं. ४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालयमा १ करोड २२ लाख ५४ हजार रुपैयाँ खर्चेर भवन निर्माण भइरहेका छन् ।
लेकपोरको विद्यालयबाहेक अन्य चार विद्यालयमा भवन निर्माणपछि कार्पेटिङ, डेक्सबेन्च व्यवस्थापन, छात्रछात्रा शौचालय, शुद्ध खानेपानी धारालगायतको व्यवस्थापन गरिनेछ । तीन पालिकाका पाँच सुविधायुक्त विद्यालय भवन निर्माणका लागि पेश नेपालले कुल ३ करोड ११ लाख ८७ हजार बजेट लगानी गरेको छ । ढिलोमा आगामी बैशाख मसान्तसम्म भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिनेछ ।
लैंगिक रूपान्तरण र समावेशी सिकाइ वातावरणका लागि सुधारिएको विद्यालय निर्माण, कक्षा कोठा व्यवस्थापन, मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा निर्माणसहितका सुविधायुक्त भवन निर्माण हुने पेश नेपालले जनाएको छ । पाँचवटै विद्यालय भवन बालमैत्री, अपागमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा तथा विशेषता नयाँ विद्यालय भवनमा हुनेछन् ।
जसअन्तर्गत सिंजा गाउँपालिका वडा नं. ६ जोडु गाउँस्थित माध्यमिक विद्यालयमा चारकोठे सुविधायुक्त भवन निर्माण तीव्र गतिमा भइरहेको छ । गत वर्ष असोजको बेमौसमी वर्षाले विद्यालय भवनमा बाढीपहिरोले क्षति गरेपछि अहिले पनि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयको विभिन्न समस्यालाई मध्यनजर गर्दै प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेश नेपाल, जुम्लाद्वारा सञ्चालित आधार परियोजनाअन्तर्गत जोडु गाउँको माध्यमिक विद्यालयमा चारकोठे सुविधायुक्त भवन निर्माण थालिएको पेश नेपालका न्यौपानेले बताए । अबको केही महिनामा भवन निर्माण सकिन्छ ।
उनले भने, ‘अहिले पनि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । मौसम खराबी भए घर फर्किनुपर्ने अवस्था छ । त्यसैले पनि भवन निर्माणलाई गति दिन अनुगमन निरीक्षण नियमित गरिरहेका छौं ।’ जोडुको विद्यालय भवनको सरोकारवालाले संयुक्त अनुगमनसमेत गरेका छन् । सिंजाको जोडु गाउँजस्तै सुविधायुक्त भवन हिमा र कनकासुन्दरीमा पनि निर्माण भइरहेका छन् । कतै अत्यावश्यक र कतै मागमा आधारित भएर भवनहरू निर्माण गरिएको न्यौपानेले जानकारी दिए । कारोबार दैनिकबाट