पर्वत। पर्वतको कुश्मा नगरपालिकाभित्रका २० वटा सडकको कालोपत्रेको काम सुरु भएको छ । सघन सहरी विकास तथा भवन निर्माण विभागसँंगको सहकार्यमा नगरभित्रका विभिन्न २० वटा सडकको नौ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने योजना सुरु भएको हो ।
कुश्मा नगरपालिकाभित्र रहेका निर्माणाधीन २० वटा सडकको नौ हजार ११३ मिटर सडक कालोपत्रे, ढलान तथा अन्य पूर्वाधार निर्माणका लागि ३५ करोड ७० लाख रूपैयाँ भ्याटसहितको लागतका कार्यक्रम सुरु भएको हो ।
सडक निर्माणका लागि शिव शक्ति कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएको छ भने त्यस योजनाअन्तर्गत नगरपालिकाभित्रका २० वटा सडक एक इकोनिक कम्प्लेक्स, विस्नुवाटिका पार्क, शौचालय कटेज, दुईवटा गेट र वडा नं १ र ७ को वडा कार्यालय भवनसमेत सोही बजेटमा सम्पन्न गर्ने लक्ष्य रहेको सघन सहरी विकास कार्यालय बागलुङका इन्जिनियर विकास अधिकारीले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटअन्तर्गत सडक पूर्वाधारको काम सुरु भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
उक्त कार्यक्रमको गत फागुनका विभागका तत्कालीन महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा हस्ताक्षर भएको थियो । नगरभित्रका १४ वटै वडाका मुख्य सडक जोड्नेगरी सडक कालोपत्रेको काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
यसैबीच कुश्मा नगरपालिका–८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको नगरप्रमुख रामचन्द्र जोशीले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै उक्त योजना प्रारम्भ भएको घोषणा गरे । सडक शिलान्यासपछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारका लागि सघन सहरीबाट प्राप्त भएको ५० करोड रूपैयाँअन्तर्गत यो सडकको शिलान्यास भएको जानकारी दिए ।
उनले यो बजेटबाट नगरपालिकाभित्रका विभिन्न सडक निर्माणको चरणमा रहेको र केही समयभित्र सबै सडक निर्माणको काम सुचारू हुने दाबी गरे । उनले पछिल्लो समय नगरपालिकाले गरेका राम्रा कामलाई छायाँमा पारेर सामाजिक सञ्जालमा अनर्गल टिप्पणी गर्ने र नागरिकमा अफवाह फैलाउने केही मिडियाकर्मीप्रति सतर्क रहन नगरबासीमा अनुरोध गरेका छन् ।
‘निराधार आरोप लगाएर केही व्यक्तिबाट नगरपालिकालाई बदनाम गर्ने काम भएको छ, त्यो भ्रम मात्रै हो,’ जोशीले भने । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले उपलब्ध बजेटलाई सही सदुपयोग गरेर गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सुझाव दिएका छन् । कारोबार दैनिकबाट