काठमाडौं। नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ। निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए। हाल ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुखले बताएका छन्। नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्ममा टुङ्गो लाग्ने उनको भनाइ थियो। सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनालाई नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्ने र निर्माण सुरु भएको दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको केन्द्र प्रमुखले जानकारी दिएका छन्।
बोलपत्र हाल्ने कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले उसलाई मूल्याङ्कनमा पार्ने कि नपार्ने भन्ने अन्योलका कारण केही समय लागेकामा हाल समावेश गर्न निर्देशन आएको केन्द्रका इन्जिनीयरले जानकारी दिएका छन्। सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकामा बढी सवारी जाम हुने ७ चोकमा सवारी साधनको आवागमन सजिलो बनाउनका लागि अध्ययन गर्न उल्लेख गरेकामा केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो। परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको केन्द्रले जनाएको छ।
यसैगरी विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा ल्याएको छ। विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि सवारीसाधन नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जानकारी दिएको छ। उक्त ‘फ्लाई ओभर’ बिएन्डबी अस्पताल नजिकैको ग्वार्कोबाट बालकुमारीको केही अघिसम्म रहने छ। हालसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको हो। नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेकाले जिम्मेवारी दिइएको हो। संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको छ।
यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आर्थिक वर्षमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गरिने योजना रहेको छ। चीन सरकारले झन्डै तीन वर्ष पहिले निर्माण गरेको चक्रपथका चोकहरुमा ‘फ्लाई ओभर’ निर्माणको योजना बनाइएको हो। यसैगरी सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ। ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी ‘फ्लाई ओभर’ निर्माण गरिने विभागले जानकारी दिएको छ।
सरकारले चालु आवमा उपत्यकामा 'फ्लाई ओभर' निर्माणका लागि बजेट छुट्याएको छ। सङ्घीय राजधानीमा हालसम्म एउटा पनि ‘फ्लाई ओभर’ नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेका छन्। सरकारको लगानीमा ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारको सहयोगमा कोटेश्वर र बानेश्वर तथा जापान सरकारको सहयोगमा थानकोटमा ‘फ्लाई ओभर’ निर्माण गर्ने गरी छलफल भइरहेको छ। यी सबै ‘फ्लाई ओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा ‘फ्लाई ओभर’ र ‘अन्डरपास’ को सङ्ख्या बढ्ने देखिएको छ।
चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अन्डरपास’ निर्माण गरेको थियो। यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो। उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोक चोकमा सवारी साधान जाम हुन थालेकाले फ्लाई ओभर र सुरुङको विकल्प खोज्न थालिएको हो।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’को उचाइ ६ मिटर हुने केन्द्रले जानकारी दिएको छ। बालकुमारी तर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ। त्यतातर्फ २८० मिटर लम्बाइको र्याम हुने र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको र्याम हुने बताइएको छ। सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने चक्रपथतर्फ जाने सवारी साधन पुलमाथि बाट चल्नेछन्।