महेन्द्रनगर। कञ्चनपुरको कलुवापुर र बेलौरी सडकखण्ड कालोपत्रे गर्ने कार्य चाँडै अगाडि बढाइने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दाबी गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई उनले स्मरण गरेको बताए ।
उनले भने, ‘सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ्, अबेर जरुर भएको छ तर, अन्धेर हुन भने दिने छैन ।’ सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशनसमेत दिइसकेको बताए ।
सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौताबमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरासमेत गरेको मन्त्री साउदले बताए । त्यसैगरी उनले सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षात्का बेला हिलाम्मे हुने कुराबारे जानकार भएको बताए । उनले भने, ‘चिन्ता र चासो लिएर यस कार्यलाई काठमाडौं फर्केपछि तत्काल अगाडि बढाउन लगाउने छु ।’
नगरपालिकामा निर्माण हुँदै गरेको फोहोर मैला व्यवस्थापन केन्द्रमा फोहोर प्रशोधन गर्ने ठूला मेसिन राखेर व्यवस्थित गरिने उनले बताए । दुई तीनवटा नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने साझा केन्द्रका रूपमा यसलाई विकास गरिनुपर्ने मन्त्री साउदको भनाइ रहेको थियो । फोहोर मैला व्यवस्थापन केन्द्रको प्रभावित क्षेत्रका बासिन्दाको हितलाई ध्यानमा राखेर उक्त कार्य अगाडि बढाउनु पर्नेमा उनको जोड थियो ।
त्यसैगरी बहुवर्षीय ठेक्का सम्झौता गरी झलारी बजार क्षेत्र भएर बग्ने सनवोरा नदीमा बलियो तटबन्ध निर्माणका लागि पहल गर्ने उनले बताए । विकास गर्ने कुरा जनप्रतिनिधको दायित्वभित्र पर्ने कुरा भएकाले उक्त कार्यबाट आफू पछि हटन नमिल्ने उनको जिकिर थियो । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले मन्त्री साउदलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
उनले भने, ‘मन्त्री साउदलाई बुझाइएको ज्ञापनपत्रमा कलुवापुर र बेलौरी सडक खण्ड कालोपत्रे गर्ने, रामजानकी मन्दिरमा विवाह मण्डप निर्माणसम्मका योजना समेटिएका छन् भने, कलुवापुर बजार क्षेत्रमा ढल निकास, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र वरिपरि पर्खाल निर्माण, प्रादेशिक आयुर्वेदिक अस्पतालको यथाशीघ्र निर्माण, सामुदायिक भूमि व्यवस्थापन स्रोत केन्द्रको कार्यालय भवन निर्माण र वडामा खेलमैदान तथा कभर्ड हल निर्माणको मागसमेत उक्त ज्ञापनत्रमा समेटिएको छ ।’ कारोबार दैनिकबाट