काठमाडौं। बागमती प्रदेशमा जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ घर निर्माण सम्पन्न भएको हो।
धादिङमा २ सय ७७ वटा सम्झौता भएकामा एक सय ९१ घर निर्माण भएको छ । त्यसैगरी मकवानपुरमा दुई सय १७ घर सम्झौता भएकामा ७५ घर निर्माण सम्पन्न भएको छ । चितवनमा दुई सय ६७ सम्झौता भएकामा एक सय १६ घर निर्माण भएको छ । रसुवामा ३९ सम्झौता भएकामा ३४ घर निर्माण भएको छ।
त्यसैगरी नुवाकोटमा ९३ सम्झौतामा ७३ घर बनेको छ । सिन्धुलीमा १ सय ९७ सम्झौतामा चार सय ९२ वटा घर निर्माण सम्पन्न भएको बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
दोलखामा एक सय ९७ सम्झौता भएकामा ३९ वटामात्र घर निर्माण भएका छन् । काभ्रेपलाञ्चोकमा पाँच घर सम्झौता भएकामा तीन वटा घर बनेका छन् । त्यसैगरी सिन्धुपाल्चोकमा भने सम्झौता नै नभएको मन्त्रालयले जनाएको छ ।
घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच जना र चितवनमा एक जना रहेका छन् । मकवानपुरअन्तर्गत् हेटौंडा–१५ का बलराम परियार, मकवानपुरगढीका रामकुमार बराइली, हेटौंडा–११ का सागर सुनार, हेटौंडा–१२ का लक्ष्मी विक र मनहरी गाउँपालिका–३ का राजकुमार नेपालीले पहिलो किस्ताको ८४ हजार बुझेर पनि घर निर्माण अगाडि नबढाएको मन्त्रालयको शहरी विकास तथा भवन महाशाखाले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ ठेगाना भएका रामकुमार प्रजाले पनि पहिलो किस्ताको रकम बुझेर घर निर्माणका लागि खाल्डो मात्रै खनेर छोडेको महाशाखाले जनाएको छ ।
मकवानपुरको तीन वटा स्थानीय तह मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ । एकीकृत बस्ती निर्माणमा पनि समस्या देखिएको महाशाखाले जनाएको छ । मनहरी गाउँपालिकाको वनकरिया बस्तीमा १६ जनाले पहिलो किस्ता लगेका छन् ।
दोस्रो किस्ता लिने जम्मा १२ मात्रै रहेको भवन महाशाखाले जानकारी दिएको छ । राक्सिराङ गाउँपालिकामा ५० वटा घरले पहिलो किस्ता लैजाँदा १० वटा घरले मात्रै दोस्रो किस्ता बुझेको बताइएको छ । कैलाश गाउँपालिकामा पहिलो किस्ता लिनेहरू नै छैनन् ।
चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा क्रमशस् ४५, तीन र दुई घरले पहिलो किस्ता लगेका थिए । जसमध्ये राप्तीका ४५ जनाले नै दोस्रो किस्ता लगे पनि बाँकी दुई पालिकामा दोस्रो किस्ता लाने शून्य छन् । गत आव २०७९र८० को असार मसान्तसम्म दुई जिल्लामा गरेर एकीकृत बस्ती आवास कार्यक्रममा रु १२ करोड दुई लाख चार हजार पाँच सय रकमको वित्तीय प्रगति भएको जनाइएको छ ।