म्याग्दी। रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा समुदायका युवाको श्रमदान र आर्थिक सहयोगबाट पक्की पदमार्ग निर्माण गरिएको छ । माछखर्कदेखि कुनौटाघाट जोड्नेसम्म गाउँमा दिवंगत भएका व्यक्तिलाई कालिगण्डकी नदीको घाटसम्म पुर्याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण गरिएको हो ।
बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण तीव्र रूपमा अघि बढेको छ भने पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको अनुभव स्थानीयले गरेका छन् । गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो ।
नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन् भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ । एकएक ट्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए ।
‘श्रमदान अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउने उद्देश्यले श्रमदान अभियान चलाएका थियौं, अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतःस्फूर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्ने पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रूपमा अगाडि बढायौं, देश तथा विदेशमा रहनुभएका धेरै जनाले सहयोग गरेका छन्,’ कटुवालले भने ।
पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमुना कार्यको रूपमा स्थानीयले पूर्णताः दिने जमर्को गरेका छन् । पदमार्ग बनाउन स्थानीयबासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ ।
माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जंगलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैं र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।
भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवंगत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतःस्फूर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए । ‘अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौं, यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ,’ केसीले भने ।
भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उनको भनाइ छ । मंसिर महिनाभित्रमा कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने लक्ष्य छ ।
सुरुआतमा श्रमदानबाट मात्रै केही पदमार्ग बनाउने गरी काम सुरु भए पनि काम सुरु भएपछि देश तथा विदेशमा रहेका भगवतीवासीले मन खोलेर सहयोग गर्न थालेकाले पदमार्ग निर्माण योजनालाई निरन्तर अगाडि बढाइएको स्थानीय युवा भगवान केसीले बताए । जंगलमा झाडी फँडानी गरेर ढुंगा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ । कारोबार दैनिकबाट