काठमाडौं। गत वर्षको तुलनामा निर्माण क्षेत्रको कर्जा २६.१२ प्रतिशतले घटेको छ। कोभिडका कारण निर्माण क्षेत्र प्रभावित हुँदा कर्जा घटेको बैंकरहरूले जानकारी दिएका छन्। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ खर्ब ६१ अर्ब २१ करोड रुपैयाँ निर्माण कर्जा प्रवाह भएको छ। गत वर्ष ३ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
कोभिड–१९ बाट अधिकांश व्यवसाय सञ्चालन नहुँदा लगानी बढेको थिएन। चालू आर्थिक वर्षमा कर्जा प्रवाह अधिक देखिएको भएपनि उपभोग्य वस्तुमा अधिक प्रवाह भइरहेको जनाइएको छ। बैंकमा लगानीयोग्य क्षमता कम हुँदा तरलता अभाव भएको हो।
कुल कर्जा वृद्धिदर गत वर्षको तुलनामा ३१.६३ प्रतिशतले बढेको भएपनि निर्माण क्षेत्रमा भने कर्जा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार समग्रमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट ४४ खर्ब ९२ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा ३४ खर्ब १२ अर्ब ९१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।
चालू आर्थिक वर्षको तेस्रो महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको क्षेत्रगत कर्जामध्ये सबैभन्दा बढी वृद्धि उपभोग्य कर्जामा गएको छ। बैंकहरूले यस अवधिमा ६ खर्ब ३६ अर्ब ४१ करोड रुपैयाँको उपभोग्य कर्जा दिएका छन्। यो गत वर्षको भन्दा २७७.८१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा सो शीर्षकमा १ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँमात्र कर्जा प्रवाह भएको थियो।
यसैगरी खनिज क्षेत्रमा ९ अर्ब २३ करोड कर्जा गएको छ। बैंकले कृषि, वन र पेयपदार्थ सम्बन्धित उत्पादनमा ७ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन्। यो गत वर्षको भन्दा २८.११ प्रतिशत बढी हो। धातुजन्य उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक सामग्री तथा मर्मतमा ७१ अर्ब लगानी गरेका छन्। कोभिड–१९ बाट बढी प्रभावित बनेको होटल तथा रेस्टुराँ क्षेत्रको व्यवसायमा सुधार हुन थालेको छ। बैंकको लगानी पनि गत वर्षको तुलनामा २३.६५ प्रतिशतले वृद्धि भएको छ।
अरु व्यवसायिक क्षेत्रमा कर्जा गत वर्षको तुलनामा बढेको भएपनि निर्माण क्षेत्रमा भने गत वर्षको तुलनामा कर्जा घटेको छ। यसले निर्माण क्षेत्रको विकासमा असर पुर्याउने देखिएको छ। साथै यसबाट निर्माण क्षेत्रको विकास सुस्त गतिमा रहेको पनि बुझ्न सकिन्छ।