काठमाडौं। सडक डिभिजन कार्यालय जुम्लाले विभिन्न सडक तथा पुलको निर्माण समयमा सम्पन्न गर्न २४ वटा निर्माण कम्पनीलाई निर्देशन दिएको छ। डिभिजनले बुधबार सूचना जारी गर्दै २४ वटा निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको हो।
ठेक्काहरुको पटक पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीहरुले लामो समयसम्म विभिन्न योजनाहरुको काम सम्पन्न नगरेपछि सूचना निकाल्न बाध्य भएको कार्यालयले जनाएको छ।
यस्तै, निर्माण कार्य समयमा सम्पन्न हुन नसक्नुको कारण १५ दिनभित्र पेस गर्न समेत निर्देशन दिइएको छ। साथै निर्माण व्यवसायीले अब निर्माण कार्य सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत गर्नुपर्नेछ।
यति गर्दा पनि निर्माण कार्य गर्ने चासो नदेखाएमा डिभिजनले सार्वजनिक खरिन ऐन अनुसार ठेक्का सम्झौता अन्त्य गरि कालोसूचीमा राख्ने समेत चेतावनी दिएको छ। यस्तै, कार्य सम्पादन जमानत, अग्रिम भुक्तानी बैंक जमानत, धरौटी वापतको रकम जफत तथा बाँकी काम गर्न लाग्ने खर्च समेत निर्माण व्यवसायीबाट असुलउपर गरिने जनाइएको छ।
कार्यालयले कारबाहीको चेतावदी दिएको ठेकेदार कम्पनीहरुमा खड्का कृष्ण।गलवा।द क्याराभन जेभी, मान शाही निर्माण सेवा, एमके/अमित जेभी, शंकरमली निर्वान सेवा, सीएम/बीजी जेभी, कर्णाली कन्स्ट्रक्सन, नारायण निर्माण सेवा, अमित/ एमके/आरएनबी जेभी, अमित एण्ड सृजना कन्स्ट्रक्सन, बुद्ध निर्माण सेवा, जेठीबडा निर्माण सेवा, विकास। श्रेया जेभी, थोडुङ कन्स्ट्रक्सन, नन्जिला एण्ड आकाश मजदुर जेभी, कश्याप निर्माण सेवा, केएस।सानीदेव जेभी, अर्धाखाची महेष जेभी, रौतहा/गलवा/ धुलिखेल जेभी, ध्रुव निर्माण सेवा, बरिष्ठ निर्माण सेवा, मैनाचुली/विकाश/ श्रेया/आदर्श जेभी, वर्ल्ड वाइड/ श्रेया/आदर्श जेभी, गेट कन्स्ट्रक्सन, कृष्ण निर्माण सेवा, हिमान्सु निर्माण सेवा र अविनास निर्माण सेवा रहेका छन्।