काठमाडौं। म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ। सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ। सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर समेत परेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीका अनुसार जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको छ।
साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ, त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेको उनले बताए। न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ।
घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरो भएको छ। पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपाली बताउँछन्। बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मङ्गलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ। छलफलमा त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने जानकारी दिए। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थायी छाप्रा हटाएर पार्किङ व्यवस्थित गरिने बताए।
बेनीमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी पार्किङ, कालीगण्डकी र म्याग्दी नदी किनारका वैकल्पिक सडक सञ्चालन, खुला ठाउँमा पार्किङस्थल निर्माण र बहुउद्देश्यीय खेलमैदानमा बसपार्क सञ्चालन गरिएको थियो।