जुम्ला। कर्णालीको जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । लामो प्रयास र संघर्षपछि विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो । सरकारले चालु आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट छुट्ट्याइएको छ । जग्गा अधिग्रहणबिना उक्त बजेट खर्च हुने स्थिति छैन ।
जग्गा अधिग्रहणबिना विमानस्थल विस्तार असम्भवजस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट निल्नु न ओकल्नु भएको थियो । तर जग्गा अधिग्रहण प्रक्रिया थालनी भएसँगै विमानस्थल विस्तार हुने आशा जागेको छ । विमानस्थल धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
नागरिक उड्डयन कार्यालय, जुम्लाले आइतबार जग्गा अधिग्रहण तथा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरेपछि जग्गा अधिग्रहणको पहिलो चरण सुरु भएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । प्राधिकरणले जुम्ला विमानस्थल प्रमुख अधिकारीलाई ‘जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ समेत तोकेको छ ।
जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाइ ६ सय ७० र चौडाइ २० मिटर छ । विमानस्थल विस्तारका लागि धावनमार्गको ३ सय ५० मिटर पूर्वतिर र ९२ मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालको भन्दा ठूलो सिट क्षमताको जहाज अवतरण गराउन विमानस्थल धावनमार्ग र टर्मिनल भवन बनाउन लागिएको विमानस्थल प्रमुख अधिकारीले उल्लेख गरे ।
उनले भने, ‘२०५१ सालमा निर्माण गरिएको टर्मिनल भवन जीर्ण बन्दै गएको छ । हरेक वर्ष धेरथोर बजेट आए पनि जग्गा अभावले एयरपोर्ट विस्तार हुन सकेको छैन । पछिल्लो वर्षमा जुम्लाका सबै सांसदको पहलमा जग्गा अधिग्रहणको काम सुरु हुँदै छ ।’ जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणका लागि धावन मार्गको पश्चिम र पूर्वतर्फ करिब १ ८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो ।
जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्कीकृति प्रदान गर्नेबारे गत जेठ २ मा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १० मै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।
विभिन्न निर्देशन तथा प्राधिकरणको चासो राखेपछि जुम्ला विमानस्थल प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी कारबाही चलाउने र प्रारम्भिक अधिकारी तोकेर सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि जग्गा अधिग्रहण सार्वजनिक गरिएको विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए । उनका अनुसार सूचना प्रकाशनपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गावाल तथा सरोकारवालाबीच चरणबद्ध छलफल चलाइनेछ । कारोबार दैनिकबाट