काठमाडौं। लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेकी छिन्।
उक्त करिडोरमा आधादर्जन भन्दा बढी जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका छन् भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा रहेका छन्। यसैगरी सो क्षेत्रका केही आयोजना हाल सञ्चालनमा छन्। प्राधिकरणले निर्माणाधीन सवस्टेशन र प्रसारण लाइन निर्माणलाई ताकेता गरिरहेको भए पनि निर्माणमा खासै प्रगति हुनसकेको छैन। निजी जलविद्युत् आयोजनाका प्रवद्र्धकले छिटो आयोजना निर्माणको काम सम्पन्न गरिदिन आग्रह गरेको भएतापनि आशा गरेजति प्रगति हुनसकेको छैन। निजी प्रवद्र्धकले पटक–पटक गरेको आग्रह अनुसार काम नभएपछि मन्त्री भुसालले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिएकी हुन्। उनले आयोजनाको काममा ढिलाइ गर्न नहुने बताउँदै एक युनिट पनि बिजुली खेर नजाने गरी काम गर्न निर्देशन दिएकी छिन्।
पछिल्लो समय सरकार ऊर्जा क्षेत्रको विकास र विस्तारमा लागिपरेको र खपत बढाउने योजनालाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको उनले जानकारी दिएकी छिन्। सो करिडोरमा पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका छन्। त्यसैगरी दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा छन्। उक्त आयोजनाहरुमध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ।
त्यस्तै करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको जनाइएको छ। उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको छ। सो आयोजनाहरुको निर्माण सम्पन्नपछि १२५ मेगावाट बिजुली उत्पादन हुने जनाइएको छ। दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अन्ति चरणमा पुगेको छ।
त्यसैगरी दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। गत एक वर्षदेखि सो आयोजनाको निर्माणकार्य सुरु भएको हो। दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजनाले जानकारी गराएको छ।
उक्त करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल रु ८ अर्ब ८० करोड लागतमा निर्माण गरिरहेको छ। सो आयोजनामा प्रभावित पर्ने क्षेत्रका बासिन्दा र जिल्लावासीको २७ करोड लगानी रहेको छ। यसैगरी दोर्दी खोला जलविद्युत् आयोजना रु ३ अर्ब ८६ करोड लगानीमा निर्माणाधीन छ। माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको रु ४ अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको छ। दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्मार्णाधीन छ। यस आयोजनाको लागत रु २ अर्ब ३९ करोड रहेको जनाइएको छ।
प्राधिकरणले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुतगतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिएको थियो। लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा सवस्टेशन निर्माणको क्रममा रहेका छन्। दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर लामो कीर्तिपुर–उदिपुर १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ। १८ महिनाभित्र निर्माण सक्ने लक्ष्यका साथ २०१८ मा ठेक्का लागेको उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणको काम सुरु भए पनि अपेक्षित प्रगति हुनसकेको छैन।