कास्की। शान्ति सम्झौता र सहअस्तित्वको केन्द्रका रुपमा परिचित पोखरा महानगरपालिका वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारा पुनःनिर्माण गरी मंगलबार उद्धघाटन गरिएको छ।
इतिहासलाई हेर्दा नेपालका बाइसेचौबीसे राजाका पालामा सोही चौतारामा बसी एकआपसमा झैझगडा नगर्ने, शान्ति र सहअस्तित्व कायम गर्ने सम्झौता गरिएको थियो। स्थानीय पहल एवं नेपाली सेनाको सहयोगमा पुनःनिर्मित चौताराको प्रधानसेनापति प्रभुराम शर्माले उद्धघाटन गरेका छन्। उनले चौतारालाई पर्यटन प्रवर्द्धन, शान्ति, सहअस्तित्वको प्रतीक र अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न आफू आतुर भएको जानकारी दिएका छन्।
यसैगरी ऐतिहासिकस्थलको विकासका लागि सहकार्य गर्न आफू सदैव तयार रहेको बताउँदै उनले आगामी दिनमा पनि उक्त ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐतिहासिक राजाको चौतारालाई विश्वसामु चिनाउन सबै लागी पर्नु जरुरी रहेको धारणा पनि व्यक्त गरेका छन्। संस्कृतिविद् एवं नेपाल राष्ट्रिय प्रज्ञापतिष्ठानका उपकुलपतिले गण्डकी प्रदेश र नेपालकै पर्यटकको मुख्य आकर्षको ऐतिहासिक स्थल उक्त राजाको चौतारा रहेको जानकारी दिएका छन्।
तत्कालीन समयमा सो क्षेत्रका बाह्र राजाले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँ नगर्ने, आआफ्नो साँध सिमानामा मिलेर बस्ने, आपसमा बिहेवारी गर्ने आदि शान्ति सम्झौताको सन्धि गरेको स्थललाई शान्ति र सहअस्तित्व प्रतिक मानी विकास निर्माणको काममा अघि बढ्न उनले आग्रह गर्दै सो चौताराले शान्तिको सन्देश दिएको र भविष्यमा पनि दिने जनाएका छन्।
यसैगरी ब्रह्म रुपा माध्यमिक विद्यालयको परिसरभित्र करिब एक रोपनी क्षेत्रमा फैलिएको राजाको चौतारा नामक चौतारालाई पुनःनिर्माण कार्य नेपाली सेनाको भगवती दल गण फूलबारी कास्कीले गरेको हो। सो चौतारामा ऐतिहासिक राजाको झल्को आउने श्रीपेच, समीको रुख, स्तम्भमा शान्तिको प्रतीक परेवा, प्रतिक्षालय, चौताराको एक छेउमा पानीसहितको माटोको घैटो, तलाउ र बगैँचा पनि निर्माण गरिएको छ।