महेन्द्रनगर। कञ्चनपुरको हुलाकी सडक निर्माणमा पटकपटक म्याद थप गरिएता पनि ठेकेदारको लापरबाहीका कारण अझै बन्न सकेको छैन । कञ्चनपुरको दक्षिणी क्षेत्रलाई सदरमुकामसँंग जोड्ने डोकेबजार–दैजी बीचको निर्माणाधीन हुलाकी सडक निर्माणको काम वर्षौंअघि सुरु भएता पनि ठेकेदारको लापरबाहीले गर्दा अलपत्र बन्दै गएको छ ।
सडक निर्माणमा चरम लापरबाही गरेपछि उक्त सडक खण्डमा वर्षायाममा हिलो, खाल्डा खुल्डी र हिउँदयाममा पुरै सडक धुलै, धुलो उडिरहने हुँदा दैजी बेलडाँडी सडकमा हिँड्ने बाटो नै देखिँदैन । समयमा सडक नबन्दा उक्त क्षेत्रका स्थानीयले निकै सास्ती खेप्नु परिरहेको छ । दैजी बेलडाँडी हुलाकी सडक खण्डअन्तर्गत शुक्लाफाँटा निकुञ्जको कारणले समेत दिनदहाडै जंगली हात्तीको आतंक चितुवा, बाघ लगातार देखा पर्न थालेपछि आवतजावत गर्ने स्थानीय त्रसित बनेका छन्।
उक्त क्षेत्रका स्थानीय रामबहादुर थापाले सडक खण्डमा प्रायः बस, जिप पल्टिनेदेखि लिएर मोटरसाइकल ठोकिने, ट्रयाक्टर नहरमा खस्ने, ठूला गाडी भासिएर बाटो बन्द हुने गर्दा धेरै दुर्घटना भएर कतिपय यात्रुको मृत्यु र घाइतेसमेत भएको बताए । उनले भने, ‘६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो भने, पहिलो पटकको म्याद सकिएर चौथो पटकसमेत म्याद थप गर्दा पनि उक्त निर्माण कार्य पूरा हुन सकेको छैन ।’
ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन् । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लापरबाहीले दोब्बर बढी ६७ महिना बितिसक्दा समेत सडक अधुरै रहेको थापाले बताए । त्यसैगरी उक्त क्षेत्रकै स्थानीय मनोज भट्टले २०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजना बीच ३० महिनाभित्रै सडक कालोपत्रे काम सम्पन्न गर्ने सम्झौता भएको बताए ।
उनले भने, ‘सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंस सिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले २०८० साल मंसिर दोस्रो सातासम्ममा समेत काम गर्न भने सकेका छैनन् । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजारदेखि लिएर पुनर्वास–बेलौरी र बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई र कहिले कसैलाई दोषारोपण गर्दै म्याद थपिरहेको बताए ।
भट्टले डोकेबजारदेखि बेलौरीसम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएको बताए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीबीच २०७३ साल फागुन १ गतेदेखि २०७४ साल भदौ ३० सम्म उक्त सडक कालोपत्रे गर्ने सम्झौतासमेत भएको भट्टले बताए । त्यसैगरी हुलाकी राजमार्गले सम्झौता अनुरुप काम हुन नसक्दा पहिलो पटक २०७६ साल चैत ३० गतेसम्म म्याद थप गरिएको जानकारी दिएको छ ।
उक्त अवधिमा समेत काम हुन नसक्दा दोस्रो पटक २०७७ साल साउन र तेस्रो पटक २०७७ साल माघ २ गतेसम्म म्याद थप गरियो । तर, उक्त समयमा समेत काम पूरा हुन नसक्दा चौथो पटक २०७८ साल चैत्र ३० गतेसम्म पुनः म्याद थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाइल पेस गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशतमात्रै प्रगति भएको हुलाकी राजमार्गले जनाएको छ ।
त्यसैगरी दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा रहेको छ । २० किलोमिटर कालोपत्रेका लागि उक्त कम्पनीले ६५ महिना लगाएको छ भने कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाइएको छ । गत असारमा चार–चार पटक म्याद थप गर्दासमेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनीविरुद्ध सूचना नै प्रकाशित गरेता पनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरह भएको छ ।
त्यसैगरी उक्त क्षेत्रका स्थानीय केशव भण्डारीले कञ्चनपुर र कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्रको आर्थिक विकासमा वृद्धि हुने अपेक्षा लिएता पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नु परिरहेको बताए । उनले भने, ‘सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएको उनले बताए । बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोभिडका कारण काम ढिलाइ भइरहेको बताए ।
तर, उक्त क्षेत्रका स्थानीयहरूले भारतीय पक्षले उक्त क्षेत्रको १२ सय मिटरमा मात्रै काम अवरोध गरेता पनि बाँकी १८ किलोमिटरमा अवरोध नभएको र निर्माण कम्पनीले ढिला सुस्ती गर्दै आइरहेको बताएका छन् भने, ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल एक अर्ब १७ करोडको लागतमा उक्त सडकको सात मिटर चौडाइ कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशतभन्दा बढी भुक्तानीसमेत भइसकेको जानकारी दिएका छन् । कारोबार दैनिकबाट