काठमाडौं। ग्राइन्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका छन्। अरु उद्योगसँग क्लिंकर किनेर सिमेन्ट उत्पादन गर्दा प्रतिस्पर्धा गर्न नसकेर ती उद्योग बन्द भएका हुन्।
वीरगंज-पथलैया औद्योगिक करिडोरका सिमेन्ट उद्योगहरु बन्द हुन थालेका छन्। वीरगंज-कलैया सडकखण्डमा रहेको कृष्णा सिमेन्ट तीन वर्षअघिदेखि बन्द छ। क्याल समूहको छातापिपराको स्टार सिमेन्ट, क्लिंकर उत्पादन गर्ने पुरानो प्रविधिको शालिमार समूहको यूनिटेक सिमेन्ट पनि बन्द छ।
अहिले क्लिंकरसहितका ठूला सिमेन्ट उद्योग धेरै आइसके। ती उद्योगबाट उत्पादित सिमेन्ट बजारमा सहजै सस्तोमा पाइन्छ। एक सिमेन्ट उद्योगका संचालकका अनुसार ग्राइन्डिङ मात्रै भएका उद्योगको भविष्य सकियो। ती उद्योगले बजार पाउन पनि कठिन छ।
उनका अनुसार उत्पादित सिमेन्ट बिक्री हुन छाडेपछि उद्योग संचालन गरेर थप नोक्सानीमा जाने भएकाले बन्द गर्नु नै सबै भन्दा राम्रो उपाए हो। पछिल्लो पाँच वर्षको अवधिमा क्लिंकरसहितका ठूला लगानीका सिमेन्ट उद्योगले बजारमा एकछत्र राज गरिरहेका छन्।
चिनियाँ संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सौर्य सिमेन्ट, घोराही सिमेन्टले साना ग्राइन्डिङ उद्योगको बजार खोसिदिइसकेका छन्। क्लिंकरसहितका उद्योगले ग्राइन्डिङ भन्दा बोरामै सय रुपैयाँभन्दा सस्तोमा सिमेन्ट बजारमा बिक्री गरिरहेका छन्।
ग्राइन्डिङ मात्रै भएका सिमेन्ट उद्योगले त्यही ठूला उद्योगबाट क्लिंकर किनिरहेका छन्। वीरगंज करिडोरमा रहेका १३ वटा सिमेन्ट उद्योगमध्ये केही बन्द भइसकेका छन् भने केही आंशिक रूपमा चलिरहेका छन्। संचालनमा रहेका उद्योगको पनि क्लिंकरसहितको अर्को उद्योग रहेकाले चलिरहेका हुन्।
वीरगंज करिडोरमा रहेका ग्राइन्डिङ युनिट भएका उद्योगको १० अर्ब लगानी जोखिममा परेको छ। ती उद्योगमा ५० करोडदेखि एक अर्ब लगानी छ। देशभर ग्राइन्डिङ युनिट मात्रै भएका उद्योग ३० वटा रहेका उनले बताए।