जाजरकोट। डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडक खण्डमा हिलाम्य भएपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठूलीभेरी नगरपालिका–७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमिटर तलको सडकमा पानीले हिलाम्य भएपछि दैनिक आवतजावत गर्ने जीप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारीसाधनलाई हैरानी हुँदै आएको छ ।
जुफाल बजारबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा मिसाउने गरिएको छ । जसका कारण करिब दुई सय मिटर सडक हिलोले भरिभराउ भएको छ । निलो माटो त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जीप, मोटरसाइकल लगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप ब्यवसायी शेरबहादुर कठायतले जानकारी दिए । जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीले समस्या भोगिरहेको कठायतको भनाइ छ ।
‘नगरपालिका कार्यालय नजिकै छ, दुस्खको कुरा बजारको पानी व्यवस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न,’ उनले भने । ‘सडकमा हिलोसँगै धुलो पनि उत्तिकै छ, जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुसल गन्तव्यमा पुर्याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ,’ उनले थपे । नजिकको सरकार स्थानीय सरकार नै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुकता देखाउनु पर्ने उनको भनाइ छ ।
यही बाटो भएर आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नुपरेको छ । धुलो र हिलोले अप्ठेरो बनेको सडकदेखि नजिकै नगरपालिका भए पनि सुधारका लागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ । डोल्पालीका लागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री, सांसद, जिल्लाका प्रशासक, नगरका जनप्रतिनिधि यही बाटो भएर आवतजावत गर्ने भए पनि सुधारका लागि कुनै चासो देखाएका पाइँदैन ।
डोल्पा प्रवेशको मुख्यद्वारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यापारी प्रकाश पन्थीले बताए । काम विशेषले जुफाल एयरपोर्ट जानुपर्ने हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ । बजारको पानी भित्रभित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजारसमेत पहिरोको उच्चजोखिममा रहेको छ । एयरपोर्ट पुग्ने सडक नै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए । कारोबार दैनिकबाट