काठमाडौं। बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण लगभग ९५ प्रतिशत पूरा भएको छ। भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको हो।
बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्षका अनुसार लगभग डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा अझै केही समय लाग्ने देखिएको छ।
केबुलकारको क्षमता बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ। इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो। गत वर्षको दसैँदेखि केबुलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उनले बताए।
एक वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो। अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम सुरु गरिएको उनले जानकारी दिए। केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ। होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन्। कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए।
ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सयजनाले एकै पटकमा वारपार गर्न सक्नेछन्। बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड रहेका छन्। बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ।