काठमाडौं। तनहुँको घिरिङ गाउँपालिका–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ। वर्षौँदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका सो क्षेत्रका स्थानीयवासीलाई स्वच्छ खानेपानी सुविधा पुर्याउने उद्देश्यसहित गाउँपालिकाले खानेपानी योजना निर्माण सम्पन्न गरेको हो।
समुद्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित च्याचुल गाउँमा अलैँची खानेपानी योजना निर्माण सम्पन्न गरिएको गाउँपालिकाका सल्लाहकारले जानकारी दिएका छन्। गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण सम्पन्न गरिएको योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ। गत वर्षबाट निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना महामारीका कारण ढिलाइ भएको थियो। घरघरमै खानेपानी सुविधा पुगेपछि सो क्षेत्रका स्थानीयवासी खुशी भएका छन्।
आफ्नै घरम खानेपानीको धारा नहुँदा स्थानीयवासी खानेपानीका लागि कुँवा र पँधेराको भरमा जिविकोपार्जन गर्दै आएका थिए। अहिले घरमै धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीको चिन्ता हटेको छ। खानेपानी योजनाको मङ्गलबार उद्धघाटन गर्दै गाउँपालिकाका अध्यक्ष नरबहादुर राणाले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी पुर्याउने योजना साथ अगाडि बढेको जानकारी दिएका छन्।
गण्डकी प्रदेश सरकार, गाउँपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रम, पश्चिम नेपाललगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पुर्याउने अभियान सञ्चालन गरिएको छ। हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर स् एक धारा अभियान सम्पन्न भएको छ। करिब ४५० घरधुरीमा 'एक घर एक धारा' अभियान सम्पन्न हुने चरणमा रहेको छ।
घिरिङ गाउँपालिका–१ स्थित गढिपल्लो गाउँ, पोख्रेलटोल, लामादी खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली, पुट्टारमा खानेपानी निर्माणको काम भइरहेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा ५ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन्। घिरिङ–२ स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ भने सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ।
घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासमा प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा निर्माणाधीन छ। घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जानकारी दिएको छ।