तनहुँ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्रे सकिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे सकिएको हो ।
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म ५.५ किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा ३।५ किलोमिटर खण्ड कालोपत्रे सकिएको छ । पाण्डेले भने, ‘दुई ठाउँमा एकतर्फी रूपमा नौ किलोमिटर खण्ड कालोपत्रे सकिएको छ । केही समयपश्चात अर्कोतर्फ पनि कालोपत्रेको काम हुनेछ ।’
सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्रे गरेको हो भने नाहाला खण्डमा तिहारका बेला कालोपत्रेको काम सकेको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१.४५ किमि रहेको छ । अहिले आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रेको काम थालिएको छ ।
पाण्डेका अनुसार पहिला कालोपत्रे भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्रे जोड्न काम थालिएको हो । उनले भने, ‘यस अगाडि बरादीमा कालोपत्रे भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ । सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फी मात्रै काम भइरहेको छ ।’
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।
यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ ।
विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । कारोबार दैनिकबाट