गोरखा। ठेक्का अवधि सकिएको पाँच वर्ष बितिसक्दा पनि बारपाक पुग्ने सडकको काम अझै अलपत्र छ । चार खण्ड छुट्याएर ठेक्का लागेको सडकको अन्तिमका दुई खण्डको काममा निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र छ । २२ देखि ३० र ३० देखि ४६ किलोमिटरका यी दुई खण्डका काम पूरा नभएपछि अहिले दुवैलाई रुग्ण योजनाका रूपमा राखिएको छ ।
२०७२ असारमा ठेक्का सम्झौता गरेर २२–३० किलोमिटर खण्डको निर्माण जिम्मा लोहनी एन्ड ब्रदर्शले लिएको थियो । ८ किमि सडक २०७४ असार १५ भित्र सक्ने गरी ठेकेदार कम्पनीले काम थालेको थियो । तर अझै भौतिक प्रगति ८२ प्रतिशत मात्रै रहेको ११ किलो छपेटार भालुस्वाँरा बारपाक सडक योजना प्रमुख अमिन्द्र खड्काले बताए ।
हालसम्म ७।८ किलोमिटरमध्ये ६ किलोमिटर कालोपत्र मात्र सकिएको उनले बताए । निर्माण व्यवसायीकै उदासीनताले समयमै काम सम्पन्न हुन नसकेको खड्का बताउँछन् । काम नसकेपछि ६ पटकसम्म म्याद थप भइसकेको छ । सातौं म्याद थपको प्रक्रिया चलिरहेको कार्यालय प्रमुख खड्काले बताए । ‘निर्माण व्यवसायीले तदारुकता देखाए सम्पन्न गर्न धेरै समय लाग्दैन,’ उनले भने ।
बारपाक सडकअन्तर्गतकै बालुवा–बारपाक खण्डको ३० देखि ४६ किलोमिटर सडक कालोपत्रको कामको प्रगति पनि सुस्त छ । ठेकेदार कम्पनी रसुवा।इलाइट।सूर्य जेभीले २०७३ असार २६ मा दुई वर्षभित्र १६ किलोमिटर सडक कालोपत्र सक्ने लक्ष्यका साथ ठेक्का पाएको थियो ।
म्याद सकिएको पाँच वर्ष बित्दा ८५ प्रतिशत भौतिक प्रगति रहेको योजना प्रमुख खड्काले जानकारी बताए । ३३ करोडको लागतमा निर्माण सुरु भएको योजना सात वर्षको अवधिमा ११ किमि कालोपत्र सकिएको छ । भौगोलिक जटिलताले पनि काममा ढिलाइ भएको कार्यालय प्रमुख खड्काले बताए ।
उक्त ठेक्काको म्याद ५ पटक थप भइसकेको छ । दुवै म्याद गत असार २५ मा सकिएपछि पुनः थप माग गरिएको छ । ‘म्याद थपको प्रक्रिया पनि चलिरहेको छ,’ योजना प्रमुख खड्काले भने, ‘बालुवा–बारपाक खण्डमा काम थालिसकिएको छ, अर्को खण्डमा पनि ठेकेदारले पुसबाट काम थाल्ने बताएका छन् ।’
बारपाक पुग्ने सडकको मसानेठाँटीदेखि निबेल खहरेसम्मको १२ किमि मध्यपहाडी लोकमार्गअन्तर्गत ठेक्का लागेर काम भएको छ । सुरुको खण्डको ५ किमि र १७–२२ किमिको खण्डको पाँच किमि भने दुई वर्षअघि कालोपत्र सकिएको छ । बारपाक सडकको काम छिटो सम्पन्न गर्न स्थानीयले माग राख्दै आएका छन् ।
‘चाँडो काम सम्पन्न गर्न भनेर हामीले ताकेता गरेको गर्यै छौँ,’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘राङरुङ खोलाको पुल मर्मत पनि बेलैमा गर्नुपर्ने छ, बालुवाको दरौंदी खोलामाथिको पुलमा पनि बर्खामा समस्या निम्त्याउँछ, यसको पनि दीर्घकालीन रूपमा समाधान हुनुपर्छ ।’ ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयको नाम पनि परिवर्तन गरी गोरखा सडक योजना राखिने भएको छ । कान्तिपुरबाट