काठमाडौं। राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले विस्तार गरेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन्। यस क्षेत्रका शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ। सो क्षेत्रको सेवा विस्तारलाई नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने गरेको छ।
यसैगरी जोरपाटी–थली–साँखु र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको जनाइएको छ। तामाको तारबाट इन्टरनेट सेवा दिइने एडिएसएल सेवामा तार काटिएपछि हप्तौँ सेवा अवरुद्ध हुने गरेको छ। सडक विस्तारका क्रममा विद्युतका खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ। टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडिएसएल सेवाका ग्राहक मारमा पर्दै आएका छन्।
सबैतिर ‘फाइबर टु होम’ अर्थात् एफटिटिएच सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुखले जानकारी दिएका छन्। टेलिकमले लिएको यस्तो नीतिका कारणले गर्दा वर्षौँदेखि पुरानो भएको एडिएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुनसकेको छैन। यसले गर्दा पनि एडिएसएल सेवामा समस्या आएको हो।
एडिएसएल सेवामा ५ एमबिभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुखले जनाएका छन्। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम् २५ एमबी गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडिएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले फेरी सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा नजोडने गरेको बताइएको छ।
एडिएसएल सेवा जोडेर वर्षौँ देखि दुःख पाएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका एक स्थानीयले पटक–पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरेको भएपनि समस्या समाधान नहुने गरेको बताएका छन्। एडिएसएल सेवामा समस्या आउँदा विभिन्न कामहरुमा पनि बाधा पुग्ने गरेको काराण् एडिएसएलका ग्राहकले गुनासो पोखेका छन्। टेलिकमले पाँच वर्षअघिदेखि यस क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्ने भने पनि हालसम्म काम हुनसकेको छैन।