जुम्ला। २५ वर्ष पहिले माघ ४ गतेका दिन २०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासि दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो भने दुर्घटनामा सातजना घाइते भए ।
क्याप्टेन सुरेन्द्रबहादुर चन्द्र, सहचालक हरिबहादुर मल्ल तथा निरविक्रम शाही, भृकुटी खाँण ठकुरीलगायत पाँचजनाको उक्त दुर्घटनामा मृत्यु भएको थियो । विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको बहस नभएको हैन तर दसकौं बिते पनि विमानस्थले काँचुली फेर्यो, न स्तरवृद्धि भयो ।
नत नियमित उडान नै हुन सकेको छ । त्यस्तै, २०६३ साल असार ७ गते यति एरलाइन्सको ट्विनेटर विमान दुर्घटना हुँदा चालक दलका तीन जनासहित आठजनाको मृत्यु भयो । सुर्खेतबाट जुम्ला उडेको उक्त विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो । ०६३ यता १७ वर्ष बित्दा पनि विमानस्थल सुधार भएन ।
विमानस्थल स्तरवृद्धि गर्ने बहस चलिरहेकै बेला २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको ९नाइएन एइभी० विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । उक्त विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पूरै ध्वस्त भयो । जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु, रन्वे छोटो हुनु विमान दुर्घटनाको मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानले बतायो।
जुम्ला विमानस्थलमा हालसम्म तीन विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । २०७५ सालमा भएको तारा एयरको विमान दुर्घटनापछि मात्रै जुम्ला विमानस्थल स्तरवृद्धिको बहस चर्को रूपमा सुरु भएको हो । जसअन्तर्गत २०७६ मा डिपिआरसमेत भयो । अहिले विमानस्थल विस्तारको प्रक्रिया जग्गाह अधिग्रहणसम्म पुगेको छ ।
जुम्ला विमानस्थलको विस्तारपछि ठूला जहाज अवतरण हुने र यात्रा सहज हुने आशामा जुम्लाबासी छन् । जुम्ला विमानस्थल विस्तार तथा हवाईइन्धनको डिपो स्थापनापछि साविक कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा छ । जुम्ला विमान स्थलमा क्रमिक रूपमा हुँदै गएका विमान दुर्घटनालाई मध्यनजर गरेर विमानस्थल विस्तार गर्न खोजिएको नागरिक उड्यन प्राधिकरणको तर्क छ ।
विस्तार गरेर ठूलो जहाज अवतरण गर्ने भन्ने हैन । विमानस्थललाई सुरक्षित बनाउन विस्तार गर्न खोजिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘जुम्लामा जहाज दुर्घटना भएपछि दुर्घटना न्यूनीकरण गर्न तथा विमानस्थललाई सुरक्षित बनाउन विस्तार गर्न लागिएको हो । ठुला जहाज लैजानका लागि नभएर साना जहाज पनि सुरक्षित होउन् भन्नका लागि विमानस्थल विस्तार गर्न लागेका छौं । यसमा तत्काललै ठूला जहाज आउँछन् भन्ने भ्रम नहोस् ।’
अहिले एकातर्फबाट मात्र जहाज अवतरण गर्ने गरेकोमा विमानस्थल विस्तार पछि दुवैतर्फबाट अवतरण गर्न मिल्ने छ । हाल विमानस्थलको धावनमार्गको लम्बाइ ६७० मिटर लामो छ । विस्तारपछि एक हजार २० मिटर लामो हुनेछ । यो रन्वेका लागि उडान भर्ने ४२ सिटे जहाज नेपालमा छैनन् । जुम्ला विमानस्थलमा १६ सिटे जहाज अवतरण भइरहेका छन् । हाल उडान भरिरहेका ट्विनअटर र डोनियर जहाजका लागि अहिलेकै ६७० मिटरको धावनमार्ग पर्याप्त छ ।
विस्तारपछि बन्ने एक हजार २० मिटरको धावनमार्गका लागि ९एटिआर–४२० अर्थात् ४२ सिटे जहाजको उडान गर्नुपर्ने हो । तर नेपालमा नेपालमा ९एटिआर–४२० जहाजनै छैनन् । त्यसैले जुम्ला विमानस्थल विस्तार दुर्घटना घटाउन तथा विमानस्थललाई सुरक्षित बनाउनका लागि हो भन्ने बुझन् जरुरी छ ।
साना जहाजको लागि अहिलेकै धावनमार्ग पर्याप्त थियो, विस्तारपछि पनि ठूला जहाज अवतरण नहुने भएपछि विमानस्थल विस्तार किन त रु भन्ने प्रश्नमा जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी भन्छन्, ‘साना जहाजलाई उडान तथा अवतरणमै समस्या छ । टर्मिनल भवन, धावनमार्ग सबै पुराना छ । त्यसैले पनि विस्तार आबश्यक हो । तर ठूला जहाजकै लागि विस्तार भन्ने सम्झिनु भएन् ।’
एयरलाइन कम्पनीहरूले खरिद गरेको खण्डमा ९एटिआर–४२० जहाज आउन सक्छ । तर नाफा नहुने ठाउँका लागि खरिद गर्छन् भन्ने एकिन नै हुन सक्दैन । तर विमानस्थल विस्तारपछि हाल नियमित उडान भइरहेका जहाजका लागि सहज हुने प्रमुख अधिकारीको भनाइ छ । सानो धावन मार्ग र त्यसैमाथि हावाको भेगनै नमिल्ने हुँदा पनि जहाजलाई अप्ठयारो पर्ने गरेको छ । कारोबार दैनिकबाट