काठमाडौं। मानिसका लागि सबैभन्दा संवेदनशील क्षेत्र हो अस्पताल। अझ प्रसुती गृह अस्पतालहरुमा पनि बढी नै संवेदनशील अस्पताल मानिन्छ। काठमाडौंको थापाथलीमा स्त्री रोग तथा प्रसुती गृह छ, जहाँ दैनिक हजारौँ मानिस बिरामी लिएर आवतजावत गर्छन्।
प्रसुती गृहसँगै अर्को निजि अस्पताल छ नर्भिक। यसै पनि शहरको मुख्य क्षेत्र त्यहिँमाथि देशकै दुई ठूला अस्पताल भएको यस क्षेत्रमा दैनिक सयौँको संख्यामा एम्बुलेन्स, ट्याक्सी, निजि सवारी साधन चल्छन्। तर सवारी साधन चढेर यो बाटो एक दिन मात्र हिँड्ने हो भने पाँच दिनसम्म ज्यान दुख्छ। खाल्डाखुल्डीमा उफ्रँदै हिँड्दा सकुसल मानिस पनि बिरामी भएर फर्किने यस सडकमा दैनिक बिरामी मानिस कसरी हिँड्छन्? यो प्रश्न हेर्दा र सुन्दा खास नलागे पनि एक पटक गहिरिएर बुझ्ने हो भने संवेदनशील प्रश्न हो।
बबरमहलदेखि थापाथली चोकसम्म र माइतीघरदेखि सेन्ट जेभियर्स हुँदै प्रसुती गृहसम्मको तीन किलोमिटर सडक कालोपत्र गर्न २०७७ साल भदौमा जयधनन्जय–कडेँल जेभीले ठेक्का लिएको थियो। १० महिनामा निर्माण सम्पन्न गर्ने गरी महानगरपालिकासँग सम्झौता भएको काम समयमा नसकिने भएपछि तीन महिना म्याद थप गरेर २०७८ असारसम्म सक्ने भनिएको थियो। तर म्याद थप गरिएको समय पनि सकिएर पाँच महिना बित्न लाग्दा पनि सडक कालोपत्र हुन सकेको छैन।
जेभीले चार करोड २२ लाख लागतमा कालोपत्र गर्न ठेक्का लिएको यस सडकको काम अझै ३० प्रतिशत बाँकी रहेको र पूरा हुन एक महिना लाग्ने प्रोजेक्ट इन्चार्ज इन्द्र सिटौलाले बताए। उनले बबरमहलदेखि काम भइरहेको बताउँदै प्रसुती गृह अगाडीको सडकमा सबै काम सकिएर कालोपत्र मात्र गर्न बाँकी रहेको जानकारी दिए।
काम ढिलो हुनुमा कसको दोष ?
मेलम्चीको पाइप फुटेकाले र विद्युत प्राधिकरणले भुमिगत तार बिछ्याउने कामका लागि सडक खन्ने काम गरिरहेकाले आफूहरुलाई काम गर्न ढिलो भएको भन्दै सिटौलाले निर्माण पाटीसँगको कुराकानीमा भने, ‘अस्पताल क्षेत्र भएकाले दिउँसो काम गर्नै सकिँदैन। राति राति मात्र काम भइरहेको छ। त्यहिँमाथि कहिले प्राधिकरणले काम रोक्छ कहिले खानेपानीले । बीचमा मेलम्चीको पाइप फुटेकाले पनि काम रोकियो। समस्या धेरै तीरबाट आउँछ तर दोष ठेकेदारलाई मात्र लगाइन्छ।’
उनले मेलम्चीको पाइप फुटेकाले लामो समय काम रोकिएको र भर्खर पाइप बनेको भन्ने कुरा सुनिएकाले अब हेरेर काम अघि बढाउने बताए। एमाले पार्टी कार्यालयतिरको बाटोमा भने स्थानीयको विरोधका कारण पनि गर्न समस्या रहेको पनि उनले जानकारी दिए।
सडक विभाग, खानेपानी, विद्युत प्राधीकरण लगायतका विभागबीच एकअर्कामा समन्वय नहुँदा पनि कतिपय स्थानमा निर्माण कार्यमा ढिलाइ हुने गरेको छ। सडक निर्माणका काम सकिन लाग्दा मात्र खानेपानीबाट आफ्नो काम बाँकी भएको भन्दै काम रोक्न पत्र आउने, कहिले प्राधीकरणले जथाभावी छरिएका तार मिलाउन समय लगाउने, कहिले ढल निर्माणको काम बाँकी हुने लगायतका समस्याले काममा ढिलो हुने निर्माण व्यवसायीहरुको गुनासो हुँदै आएको छ।
तर काममा जसले ढिलासुस्ती गरेपनि दुख र सास्ती खेप्ने सर्वसाधारण हुन् । काम गर्ने प्रणालीमा भएको कमजोरीको सजाय जनताले पाइरहेका छन्। यस बारेमा कसैलाई थाहा नभएको भने होइन तर प्रणाली सुधारमा चासो भने नदिएकै हो। जब सम्म राज्य प्रणाली व्यवस्थीत हुँदैन तब सम्म कसले ढिलो गर्यो भनेर कसरी बुझ्ने ?