पोखरा। अर्थमन्त्री डा.प्रकाशशरण महतले अबको पर्यटन भनेको छुट्टै हुनुपर्ने बताएका छन्। शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा.महतले अबको पर्यटन विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण भएको बताएका हुन्।
उनले पोखराका व्यवसायीलाई प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न अनुरोध समेत गरे।
मन्त्री डा.महतले भने, ‘‘एउटा होटलबाट सुरु गरौं न यो काम। त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ। बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन्। खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ। ’’
‘‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन्। अरुतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैन’’ उनले भने, ‘‘गण्डकी प्रदेश नै सुन्दर ठाउँ हो। तर अहिले नकरात्मक प्रभावबाट दूषित भइरहेको छ। अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो। यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ। हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ। ’’