दाङ। दाङमा हुलाकी सडकअन्तर्गत गएको जेठ महिनादेखि रोकिएको गढवा–कालाकाटे सडकको निर्माणको काम सुरु भएको छ । हुलाकी सडक खण्डअन्तर्गत गढवादेखि वन घुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो ।
हुलाकी सडकअन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जंग्रहवासम्मको सडक कालोपत्रेको काम सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माणको काम हुन सकेको थिएन । जसले गर्दा सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समयसम्म अलपत्र परेको हुलाकी सडकको निर्माणको काम सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
मंसिरको २१ गतेसम्म हुलाकी सडक निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउने हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय र निर्माण व्यवसायीका बीचमा भएको सम्झौताअनुसार मंसिरको २२ गतेदेखि सडक निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए । चालु आर्थिक वर्षको असार मसान्तसम्म सडक निर्माणको काम सक्ने गरी काम सुरु गरेको सडक निर्माणको काम गरिरहेको बज्रगुरु कान्छाराम जेभीका प्रतिनिधि आरएन सुवेदीले जानकारी दिए ।
उनका अनुसार करिब २० किलोमिटर सडक खण्डको अधिकांश भागको बेस निर्माणको काम भइसकेकाले बाँकी काम आउने चैत–वैशाखसम्म सक्ने गरी कामलाई अघि बढाइने उनको भनाइ छ । निर्माण व्यवसायीका प्रतिनिधि शर्माले भने, ‘हुलाकी सडक खण्डअन्तर्गत केही ठाउँमा वनका रुख र विद्युतका पोलका कारण समस्या छ । बाँकी ठाउँमा काम गर्नलाई समस्या छैन । ती समस्या हटाउनका लागि स्थानीय सरकार र सम्बन्धित कार्यालयले पहल गरि दिए । चालु आर्थिक वर्षमा सडक निर्माणको काम सक्ने छौं ।’
हुलाकी सडकअन्तर्गत गढवा गाउँपालिकाको कालाकाटेदेखि राजपुर गाउँपालिकाको सिक्टासम्मको सडक निर्माणको तीन वर्षभित्र सक्ने गरी २०७६ कात्तिकमा कार्यालय र निर्माण व्यवसायी बीचमा सम्झौता भएको थियो । सम्झौताअनुसार सडक निर्माण भइसक्नु पर्ने भए पनि कहिले मुआब्जा तथा वनसँगको विवादसँगै निर्माण व्यवसायीको लापरबाहीका कारण अझैसम्म निर्माण हुन सकेको छैन । हुलाकी सडकको लागत कुल एक अर्ब ३७ करोडको रहेको कार्यालयले जनाएको छ ।
लामो समयसम्म निर्माण नगर अलपत्र पारेको सडक सबैको दबाबपछि अहिले निर्माण व्यवसायीले सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । ‘सडक निर्माणको काममा विभिन्न बाहना बनाउँदै निर्माण व्यवसायीले अलपत्र बनाउने काम गर्दै आएको थियो । अहिले सबैको दबाबपछि काम सुरु गरेको छ,’ गाउँपालिका अध्यक्ष शर्माले भने, ‘समयमा सडक निर्माण नहुँदा जनताले धेरै दुःख पाउने काम भइरहेको छ ।’ सडक मर्मत नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलोका कारण जनजीवन कष्टकर बन्ने गरेको थियो ।
गढवा गाउँपालिकादेखि जंग्रहवासम्मको सडक भने खड्का कृष्ण प्रालिले गरेको थियो । हुलाकी राजमार्गअन्तर्गत गढवादेखि राजपुर गाउँपालिकाको जंग्रहवासम्मको सडक कालोपत्रे गर्ने काम सकिए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माणको काममा ढिलाइ भएको हुलाकी सडक राजमार्ग निर्देशनालयको कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ । हुलाकी सडक निर्माण भएपछि पूर्व–पश्चिम राजमार्गका रूपमा रहेको सडक खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोगसँगै स्थानीयलाई सहजता हुने स्थानीय बासिन्दाको भनाइ छ । कारोबार दैनिकबाट