काठमाडौं। देशभरि आउटलेट विस्तारमा आक्रामक भइरहेको भाटभटेनी सुपर स्टोरले वाग्मती प्रदेशको राजधानी हेटौँडामा मङसिर २२ गतेदेखि नयाँ स्टोरको सञ्चालन गर्ने तयारी भइरहेको छ।भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीको १ सय ५० करोडको लगानीमा निर्मित २० औँ स्टोरको उद्धघाटन मङसिर २२ मा गर्न लागेका हुन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा पर्ने चौकी टोलमा उक्त भाटभटेनीको सुपर स्टोरको निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। गुरुङले स्टोर परिसरको जमिन र निर्माणका लागि १ सय ५० करोडको लगानी भएको बताएका छन्। चौकी टोलमा खरिद गरिएको १४ कट्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनको निर्माण गरिएको भाटभटेनीका व्यवस्थापकले जानकारी दिएका छन्। भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट रहेको छ।
स्टोरको भुइँतल्लामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र मन्जन–टुथ ब्रस लगायतका कस्मेटिक सामग्री राखिनेछन्। साथै सोही तलामा केएफसीको आउटलेट पनि रहेको छ। यसैगरी पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गार प्रसोधनका कस्मेटिक सामग्री साथै पेपे पिज्जाको आउटलेट पनि राखिने भएको छ। स्टोरको दोस्रो तला महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगायतका पहिरनका सामग्रीका राखिने छ भने यही तलामा न्यू ब्यालेन्स, एनबी, फिला, स्केयर्स र युएस पोलोजस्ता विश्वप्रसिद्ध ब्रान्डेड कम्पनीका तयारी कपडा पनि राखिने भएको छ। तेस्रो तलामा जुत्ताचप्पल लगायतका फुटवेयर सामान राखिने भएको छ ।
सोही तलामा टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री पनि राखिनेछन्। चौथो तलामा क्यू एन्ड यु कम्पनीका फर्निचर राखिनेछन्। पाँचौँ तला हालका लागि खालि रहेको र सोही तलामा स्टोरको प्रशासनिक र व्यवस्थापकीय कार्यालय पनि राखिएको जनाइएको छ। यो तला अझै निर्माणाधीन अवस्थामा रहेको छ। छैठौँ तलामा स्टोरको गोदाम बनाइएको छ। भाटभटेनीले काठमाडौंको टोखा र सानागाउँ, पश्चिम नेपालको धनगढी, प्रदेश नम्बर २ को जनकपुर र वीरगञ्ज तथा पूर्वको झापा जिल्लास्थित बिर्तामोड गरी ६ ठाउँमा स्टोर सञ्चालनका लागि निर्माण कार्य गरिरहेको जनाइएको छ।