काठमाडौं। काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस स्टप निर्माण गर्ने भएको छ। महानगरपालिकाले बुधबार ट्राफिक प्रहरीसँग समन्वय तथा सहकार्यसम्बन्धी गरेको अन्तरक्रियामा २६४ ठाउँमा बस स्टप निर्माण गर्ने योजना सुनाएको हो।
महानगरले यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको समेत जानकारी गराएको छ।
दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको योजना छ ।
अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको भन्दै यातायातसम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको समेत महानगरले जनाएको छ।
महानगरले काठमाडौंमा अटो रिक्सा, ईरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने जनाएको छ।
यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको बताइएको छ ।