काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको हैसियतले पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको नयाँ युग सुरुवात गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने बताएका हुन्।
उनले हाइड्रोजनबाट चल्ने गाडीको प्रवर्द्धन गरी नेपालमा प्रदुषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्ने समेत बताए।
नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावनाको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । नेपालमा रहेको नवीकरणीय ऊर्जाको सम्भावनालाई सक्दो उपयोग गरी हाइड्रोजन उत्पादन गर्ने र यसलाई गाडी, उद्योग लगायत विभिन्न क्षेत्रमा सदुपयोग गर्ने बताए ।
पाँचखाल नगर प्रमुख महेश खरेलले हरित ऊर्जा प्रवर्द्धन गरी महिलालाई उद्यमी बनाउने उद्देश्यले पार्क निर्माण गर्न लागिएको बताए । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा पार्क निर्माण हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री रामशरण महतले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् ।
९६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पार्कको पहिलो चरणमा ४० करोड रुपैयाँमा ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् ।