काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा प्रस्ताव गरेको फ्लाइओभरको सिमांकनमा पर्ने घरजग्गाको मुआब्जाका लागि मात्रै १ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दररेट निर्धारण गरेको थियो। उक्त दररेट अनुसार १ अर्ब १४ करोड रुपैयाँ लाग्ने देखिएको आयोजना प्रमुखले जानकारी दिएका छन्। दररेट तय भएको भएपनि वितरण सुरु गर्न आफुहरुसँग पैसा नभएको हुनाले अर्थमन्त्रालयसँग मागेका र केही दिनमै सूचना प्रकाशन गर्ने उनले जानकारी दिएका हुन्।
चालु वर्षका लागि मुआब्जा वितरण गर्न डेढ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ। तत्काल मुआब्जा वितरण सुरु गर्न सडक विभागसँग रहेको अन्य आयोजनाको ३० करोड रुपैयाँ रकमान्तर गर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको आयोजना प्रमुखले जनाएका छन्। सो आयोजनाको सिमांकनमा पर्ने १२ रोपनी जग्गा, पक्की र टहरा गरि ५७ वटा घर भत्काउनुपर्ने भएको छ।
सो फ्लाइओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट निर्माण गर्ने योजना रहेको छ। चार लेन राजमार्गको मुख्य दुई लेन फ्लाइओभरका लागि प्रयोग हुने भएका कारण आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो। राजमार्गबाट सुरुङमार्गको काठमाडौंतिर बन्ने पोर्टलसम्म जानका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो। जसको डिजाइन तयार भइसकेको छ। राजमार्गबाट सुरुङमार्गतिर जाँदा जाम हुन सक्ने भन्दै फ्लाइओभर निर्माण गर्न लागिएको हो। प्रस्थावित दुई लेनको फ्लाइओभर १२८ मिटरको लामो हुनेछ।
१२८ मिटर फ्लाइओभरबाट करिब तीन किमि पहुँच सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिनेछ जुन हाल निर्माणको क्रममा रहेको छ। यसैगरी निर्माण सुरु गरेको ८ महिना भित्रमा फ्लाइओभर निर्माण पुरा हुने दाबी गरिएको छ। उक्त फ्लाइओभर निर्माणको लागि मुख्य समस्या भनेको जग्गा अधिग्रहण र त्यसका लागि आवश्यक रकम रहेको र जग्गा एकीकरण भए ८ महिनामा फ्लाइओभर नै संचालन गर्न सकिने जनाइएको छ। सडक विभाग मातहतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले उपत्यकाका चार र बाहिर तीन स्थानमा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ।
उपत्यकामा निर्माण गर्ने योजना बनाएको चारमध्ये तीनको बेसलाइन सर्भे नै भइसकेको छ। चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी १० किलोमिटर) मा चारवटै फ्लाइओभर निर्माण गर्न लागिएको हो। पहिलो चरणमा ग्वार्को चोकमा निर्माण हुने फ्लाइओभरको असार २५ गते नै बोलपत्र आह्वान भइसकेको छ। हाल प्राविधिक मूल्यांकन चलिरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रले जानकारी दिएको छ। सो फ्लाइओभर करिब दुई वर्षमा निर्माण सक्ने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न लागिएको छ। चक्रपथको मुख्य दुई लेनमा निर्माण हुने उक्त फ्लाइओभर ४५५ मिटर लम्बाइको बनाइने योजना रहेको छ।
एकान्तकुना र बालकुमारी निर्माण गर्ने भनिएको फ्लाइओभरको बिडिङ डकुमेन्ट तयार भइरहेको आयोजना प्रमुखले जनाएका छन्। यसैगरी बल्खुचोकमा चालु आर्थिक वर्षमा अध्ययन गर्ने योजना रहेको छ। उपत्यका बाहिरका तीन स्थानमा अध्ययन गर्ने कार्यक्रम छ। नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा–आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्ने छ। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा उक्त आयोजना निर्माण भइरहेको छ। उक्त आयोजनाको कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति भएको छ।
सो आयोजनाको करिब २३ प्रतिशत काम सकिएको छ। हाल फ्लाइओभर निर्माण कार्य २४ सै घण्टा चलिरहेको जनाइएको छ। सो फ्लाइओभर चन्द्रागिरी नगरपालिकाको टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा निस्कनेछ। जसको लम्बाइ २.७ किमि रहनेछ।