काठमाडौं। चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन सुरु गरिएको छ । शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन सुरु भएको हो। काठमाडौं चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टी आर एस लोजिपार्क प्रालिबीच सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार निजी क्षेत्रको व्यवस्थापना सञ्चालनमा आएको हो । मंसिर ४ गते समिति र प्रालिबीच पाँच वर्षको लागि दुई करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुरूप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टी आर एस लोजिपार्कले लिएको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । उनले भने,‘चोभारको सुख्खा बन्दरगाह निजी क्षेत्रमार्फत सञ्चालन र व्यवस्थापन हुँदै छ ।’ अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट एक सय ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रूपमा वृद्धि हुने अवस्था देखेर नै व्यवस्थापन निजीलाई दिएको उनको भनाइ छ ।
चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु(दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारादेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको जनाइएको छ । समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने छ । निर्देशक गजुरेलले भने,‘सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसाबले राम्रो परिणाम देखाएको छ ।’
करार म्यानेजमेन्ट, सुपर भिजन र कन्ट्रोलिङ नेपाल इन्टर मोडल यातायात विकास समितिबाट हुने छ भने सञ्चालन र व्यवस्थापन निजी क्षेत्रमार्फत हुन्छ । निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर पनि बढ्ने र राज्यलाई आउने आम्दानी पनि बढ्ने समितिले भनेको छ । विकास समितिअन्तर्गत सात वटा पोर्ट सञ्चालन भइरहेको छ । सबै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइराखेको छ ।
निर्देशक गजुरेललेका अनुसार काठमाडौं–तराई फाष्टट्रयाक नबनेसम्म पूर्ण क्षमतामा चल्दैन । निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने प्रयास भइरहेको पनि उनले बताए । सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको लोजिपार्कले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमुनाको रूपमा विकास गर्ने बताएको छ । लोजिपार्कका प्रतिनिधि अनन्त सिंहले विराटनगर, काँकडभिट्टा, वीरगन्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा सोही सेवाको निरन्तरता दिने बताए ।
उनले भने,‘चोभारलाई नमुनाको रूपमा विकास गर्ने योजना छ । चोभार सुख्खा बन्दरगाहलाई पूर्णरुपमा सञ्चालन गर्ने र्छौ ।’ समितिले गत साउन ९ गते टेन्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको थियो । कारोबार दैनिकबाट