काठमाडौं। महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्दा पनि निर्माण सुरु भएको छैन। जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६/७७ मा र आर्थिक वर्ष २०७७/७८ मा गरी ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भएता पनि हालसम्म नमूना विद्यालयको जग समेत हाल्न सकिएको छैन।
सरकारले नमूना विद्यालय कार्यक्रमअन्तर्गत सो विद्यालयलाई भौतिक संरचना निर्माण र शैक्षिक अवस्था सुधार गर्न वर्षेनी डेढ करोड रुपैयाँका दरले ५ वर्षसम्म रकम उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाकाले जानकारी दिएका छन्। हाल दुई आर्थिक वर्षको रकम पनि पठाइसकेको जनाइएको छ।
विद्यालयमा आन्तरिक कलह र भागबण्डा नमिल्दा नमूना विद्यालयको काम अगाडि बढ्न नसकेको स्थानीयबासीको आरोप रहेको छ। प्रधानाध्यापक झाले नमूना विद्यालय निर्माणका लागि ३ करोड रुपैयाँ विद्यालयको खातामा आएको जानकारी दिएका छन्। तर विद्यालय निर्माण कहिले हुने कुनै ठेगान छैन्।
जलेश्वर नगरपालिका र वडा कार्यालयले सहयोग नगरेका कारण विद्यालय निर्माणको काम अघि बढन नसकेको उनको भनाइ रहेको छ। स्थानीय तहसँग समन्वय र सहकार्य गरी प्राविधिक सहयोग लिएर कामको थालनी गर्न निर्देशन आएको भए पनि नगरपालिकाले प्राविधिक नपठाउदा बोलपत्र प्रक्रिया नै अघि बढ्न नसकेको उनले जानकारी दिएका छन्।
सो विद्यालयमा १२ कोठे तीनतले भवन, हल र पुस्तकालय बनाउने योजना छ। दुई करोड ५० लाख रुपैयाँ भवन निर्माणतर्फ र ५० लाख रुपैयाँ शैक्षिक अवस्था सुधारतर्फ खर्च गर्ने योजना रहेको झाले बताएका छन्। वडाध्यक्ष र जलेश्वर नगरपालिकाका प्रमुखलाई सहयोगका लागि पटक–पटक मौखिक र लिखित अनुरोध गरिएको भएतापनि दुवै जनाले उदासिनता देखाएको उनको आरोप रहेको छ।
अलिे विद्यालय निर्माणको लागि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच समन्वयको अभाव देखिएको छ। व्यवस्थापन समितिको पहलमा नगरपालिकाले प्राविधिक सहयोग गरेपछि मात्रै बोलपत्र प्रक्रियामा जाने भएकाले नमूना विद्यालयको काम अघि बढ्नेमा अन्योल छ।
दुई वर्षअघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नं २ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश नं २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारीसहितको टोलीले नमूना विद्यालयको शिलान्यास गरेका थिए। त्यसपछि विद्यालय निर्माणको काम अलपत्र अवस्थामा रहेको छ।
उक्त विद्यालयमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। तर नयाँ भवन र कक्षाकोठाको अभावमा उनिहरु आफ्नो ज्यान जोखिममा राखेर जीर्ण भवनमा पठनपाठन गर्न बाध्य रहेका छन्। शैक्ष्कि क्षेत्रमा नै यसरी लापरबाही गर्नाले विधार्थीको भविष्यमा ठुलो असर पर्ने देखिएको छ।