धनकुटा। कुनै समय जिल्लाको बिकट र दुर्गम क्षेत्रको गाउँको उदाहरण दिँदा नाम लिइनेमध्येको एक धनकुटाको साविक तेलिया गाविस र तांखुवा गाविसको तल्लो क्षेत्र हालको छथर जोरपाटी गाउँपालिकाको ३ र ४ नम्बर वडाको तल्लो क्षेत्र सदरमुकामबाट पक्की सडक पुगेसँंगै अहिले सुगम क्षेत्रको रूपमा उदाहरण दिन थालिएको छ ।
कोशी प्रदेश सरकारको लगानीमा धनकुटा सदरमुकाम हुँदै वञ्चरे, सिभुवा, छथर जोरपाटी गाउँपालिका वडा न ४ को वडा कार्यलय हुँदै तेह्रथुम जिल्ला जोड्ने लक्ष्यका साथ पहिलो चरणमा निर्माण थालिएको सडक २३ किलो पक्की सडक पुगेसँंगै यसले सुगम स्थानको उदाहरण पाउन थालेको हो । सदरमुकाम आउन लाग्ने लामो समय र उत्पादित वस्तु बिक्रीका लागि हुने समस्याका कारण बसाइँ सराइ गर्न बाध्य भएका यस क्षेत्रका स्थानीय सडक पुगेसंँगै हर्षित भएका छन् ।
कुनै समय जिल्लाको कर्णालीको उपनाम पाएको यो क्षेत्रमा घर छभन्दा पनि मान्छेले हेर्ने र गर्ने व्यवहार नै बेग्लै थियो तर पक्की सडक निर्माण भएपछि त्यो अवस्था त अन्त्य भयो नै यसले यहाँका स्थानीयमा समेत छुटै खुसी दिएको स्थानीय खिन्द्रबहादुर गिरिले बताए । सुविधा नभएर बसाइँ सराइले विरक्तिएका स्थानीयले फलफूल तथा अन्नबाली राम्रो उत्पादन हुने जग्गासमेत धरान तथा विराटनगरका व्यवसायीलाई कौडीको भाउमा बिक्री गर्ने गरेका थिए तर अहिले त्यस स्थानमा जग्गाको मूल्यसमेत निकै बढेको स्थानीय मेघराज खतिवडाले बताए ।
उनले भने, ‘स्थानीयले आफ्नो जग्गाको मोलसमेत आफै गर्दैनथे व्यापारीले दिएको मूल्यमा जग्गा दिन तयार थिए तर सडक बनेसँंगै जग्गाको मूल्य पनि बढेको छ पहिला जग्गा बिक्री गरेकाले समेत मूल्य थपेर जग्गा किन्न थालेका छन् । सडक नबन्दा यस क्षेत्रका मानिस धनकुटा सदरमुकाम पुग्नका लागि चुलाचुली, जोरपाटी, हिले हुँदै करिब ३४ किलोमिटर घुमेर जानुपर्ने बाध्यतामा थिए तर अहिले यो दूरी करिब ३० मिनेटमा आउन सम्भव भएको अर्का स्थानीय प्रकाश नेपालीले बताए ।
सडक निर्माणले तेलिया तांखुवामात्र नभई परेवादिनसम्म लाई धेरै फाइदा गरेको छथर जोरपाटीगाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बुले बताए । साथै उनले तेह्रथुम जिल्ला जोड्ने लक्ष्यले थालिएको सडकको बाँकी खण्डको कामसमेत दु्रतगतिमा अगाडि बढाउनुपर्ने बताए । खाद्यबाली, फलफूल र पशुपालको सम्भावना प्रचुर रहेको यस स्थानमा ठूला साना लगानी आवश्यक रहेकाले सम्बन्धित निकायले यसमा विशेष लगानी गर्न आवश्यक रहेको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।
यहाँका बाँझो जमिनलाई सदुपयोग गर्दै उत्पादन बढाउनका लागि पालिकले सक्ने कोसिस गरिरहेको र कृषिका ठूला कार्यक्रम सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग समेत सहयोगका लागि प्रस्ताव गर्ने र त्यसका लागि पहलकदमी गर्ने कामसमेत आफूले गरिरहेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।
वि।स २०७६ बाट २०८० पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभीले कोशी प्रदेश सरकारको ५६ करोड ५२ लाख लागतमा सडकको ठेक्का पाएको र अहिले सडकको काम करिब ९५ प्रतिशत पूरा भएको निर्माण कम्पनीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए । कारोबार दैनिकबाट