काठमाडौँ। यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ। दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत गरिएको थियो, अहिले आगामी वर्षमा सडक अवरुद्ध नहोस् भनी दीर्घकालीन रुपमा मर्मत अघि बढाइएको हो।
धेरै ठाउँमा सडक नै बगाएकाले तलबाट जाली बनाएर हालिएको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जानकारी दिएको छ। सडकमा ढलान गर्ने, नाली बनाउने, पानी कटाउने कामका लागि छिट्टै ठेक्का प्रक्रियामा जाने योजनाले बताएको छ।
वर्षाले त्यहाँका केही सङ्ख्यामा काठ र एउटा पक्की पुल बगाएको छ। ती ठाउँमा अहिले काठका पुल राखेर यातायात सञ्चालन भइरहेको छ। पुल नहुँदा नै सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालन भएको योजनाका प्रमुख अच्युतविलास पन्तले बताए। सडक दीर्घकालका लागि लागत अनुमान गरेर विभागमा पठाइएको उनले जानकारी दिए।
सडक मर्मतका लागि ठूलो रकम आवश्यक भए पनि एकै पटक व्यवस्थापन हुन नसक्ने हुँदा प्राथमिकताका आधारमा मर्मत गरिने उनले बताए। ट्रयाक मात्रै खोलिएको सडक भएकाले पनि सडकमा ठूलो क्षति भएको हो। लामो समय पहिलेदेखि नै उक्त सडकको ट्रयाक सेनाले खुलाएको थियो। ट्रयाक खुलेपछि लामो समयसम्म सडक स्तरोन्नति हुन सकिरहेको छैन। बेँसीशहरबाट चामेसम्म ६५ किमी सडक कच्ची छ। बेँसीशहरबाट अगाडि सात किमी सडक मात्रै कालोपत्रका लागि ठेक्का भएको थियो।
बेँसीशहर–चामे सडकमा लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमीपर्छ। यो सडक नै मनाङ जिल्लालाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने सडकका रुपमा रहेको छ। मनाङमा ठाउँठाउँमा काठका पुल मात्रै भएकाले हलुका सवारीसाधन मात्रै चल्ने गरेको योजना प्रमुख पन्तले जानकारी दिए।
हिमाल पारिको जिल्लाका रुपमा परिचित मनाङ सडक सञ्जालमा जोडिए पनि सधैँ सवारीसाधन भने चल्न सक्दैनन्। जाडो मौसममा हिउँका कारण र वर्षामा बाढी तथा पहिराका कारण सडक अवरुद्ध भइरहेको छ। जसले गर्दा यस क्षेत्रमा भ्रमणको लागी निस्किने यात्रीको लागी मात्र नभएर स्थानीय पनि समस्यामा परेका छन्।