काठमाडौं। आगलागी भएको लामो समयसम्म भवन पुनर्निर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएका छन्। रोल्पा नगरपालिका–१ धारपानीमा रहेको कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षा कोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन।
गत असोजमा भएको आगलागीबाट विद्यालय भवन जलेसँंगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन्। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ वटा कोठा जलेर पूर्णरूपमा नष्ट भएका छन्।
व्यवस्थापन समितिका अध्यक्षका अनुसार आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेको छ। विद्यालय भवन जलेको लामो समय बित्दासमेत पुनर्निर्माणका लागि कसैको ध्यान नजाँदा बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको उनले जानकारी दिए।
विद्यालय भवन तत्काल पुनर्निर्माणका लागि रोल्पा नगरपालिकासँंग आग्रह गरे पनि सुनुवाइ भएको छैन। गर्मी मौसमको टन्टलापुर घाम पार गरेका बालबालिकाले हिउँदको कठाँग्रिने जाडोमा खुला आकाशमुनि वसेर पढ्न बाध्य भएका छन्। जाडो विस्तारै बढ्दै छ पुस माघको जाडोमा समेत खुला आकाशमा मुनि पढ्नु पर्ने अवस्था छ उक्त विद्यालयका प्रधानध्यापकले गुनासो गरे। यसरी चिसो पढाउदा गाह्रो त हुन्छ नै तर बालबालीकाको ज्यान समेत जोखिममा हुने उनले बताए।
आगलागीले कक्षाकोठा जलेपछि आफूहरु खुला आकाशमुनि पढ्न बाध्य भएको कक्षा ५ की एक छात्रा दुःखेसो पोखिन। खुला आकाशमुनि बसेर पढ्दा घाम, पानी र जाडोले सताउने गर्छ। कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ।
विद्यालयका अनुसार कक्षा ४ सम्मका विद्यार्थीलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा ५ का विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको हो।
सरकारी निकायबाट सहयोग नभए पनि छिमेकी विद्यालय बालकल्याण नमुना माविले उक्त विद्यालयलाई फर्निचर सहयोग गरेको छ। आगलागीबाट विद्यालय भवनसहित फर्निचरसमेत नष्ट भएको हुँदा आफूहरूले १० थान डेस्क बेन्च सहयोग गरेको बालकल्याण नमुना माविका प्राचार्य मधुसूदन पोख्रेलले बताए।